भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या सोमबारसम्म एक करोड तीन लाख ४० हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा १६ हजार ५ सय ४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको सङ्ख्या एक करोड तीन लाख ४० हजार ४ सय ६९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार बिहान जनाएको छ ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २ सय १४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४९ हजार ६ सय ४९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ४६ हजार ८ सय ६७ व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ४३ हजार ९ सय ५३ सक्रिय संक्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ४ सय २४ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १४ जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ५ सय ८५ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ५६ लाख ३५ हजार ७ सय ६१ को हाराहारीमा नमूना परीक्षण गरेको छ ।




