विश्व

जापानको खागोशिमामा ज्वालामुखी बिस्फोट

जापानको खागोशिमामा ठूलो ज्वालामुखी बिस्फोट भएको छ। जापानको खागोशिमा प्रिफेक्चरको दक्षिण पश्चिमी टापुमा आज बिहान ज्वालामुखी विस्फोट भएको हो। जापानी मौसम विज्ञान एजेन्सीका अनुसार विस्फोट आज बिहान २ बजेर ४८ मिनेटमा सुवानोसेजिमा टापुमा भएको हो।

एजेन्सीले ज्वालामुखी विस्फोटको सतर्कता चेतावनीलाई अधिकतम ५ मध्ये तेस्रो स्तरमा राखेको जनाएको छ। विस्फोटबाट ज्वालामुखीमा जलेका ठूला ठूला चट्टानहरु करिव दुई किलोमिटर टाढासम्म पुगेका थिए।

उक्त टापुमा आवासीय क्षेत्र ज्वालामुखी विस्फोट भएको स्थानभन्दा चार किलोमिटर मात्र टाढा रहेको छ। स्थानीय अधिकारीहरूका अनुसार डिसेम्बर १ तारिखमा उक्त टापुमा ८१ जना बासिन्दा रहेका थिए । त्यहांको अवस्थाबारे थप विवरण आउन बांकी रहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

मौसम एजेन्सीका अधिकारीहरुले ज्वालामुखी विस्फोट भएको स्थानको करिब २ किलोमिटर भित्रको क्षेत्रमा ठूला ठूला चट्टानहरू खस्ने सम्भावना रहेकाले सचेत रहन चेतावनी जारी गरेका छन्। मानिसहरूलाई ज्वालामुखीको खरानी र हावामा उडेर आउने साना चट्टानहरूबाट जोगिन सावधानी अपनाउन समेत आग्रह गरिएको एनएचके वर्ल्डले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *