नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा २२ हजार २ सय ७३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार १ सय १८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना संक्रमणको कारण २ सय ५१ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजार ३ सय ४३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ४० हजार व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८१ हजार ६ सय ६७ सक्रिय संक्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घन्टामा ७ सय ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३० जनाको संक्रमणको कारण मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ४ सय १४ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शनिबारसम्म देशभर १६ करोड ७१ लाख आठ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।




