कुबेतका अमिर शेख नवाफ अल–अहमद अल–जावेर अल–सबाले मङ्गलबार प्रधानमन्त्रीमा पुनः शेख सबा खालिद अल–हमद अल–सबालाई नै नियुक्त गरेका छन् ।
कुबेत न्युज एजेन्सी (केयूएन्ए) का अनुसार कुबेतमा शनिबार सम्पन्न निर्वाचनपछि कुबेती संबैधानिक व्यवस्था अनुसार शेख सबाले प्रधानमन्त्रीबाट आइतबार राजिनामा दिएका थिए ।
अमिरले शेख सबाले प्रधानमन्त्रीबाट दिएको राजिनामा स्वीकृत गरी उनलाई नै अर्को व्यवस्था नहुन्जेलका लागि कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी तोकेका थिए।
कुबेती अमिरले प्रधानमन्त्री शेख सबालाई नयाँ सरकार गठनका लागि मन्त्रीहरूको नामावली छनोट गरी अनुमोदनका लागि पेश गर्नसमेत मङ्गलबार निर्देशन दिएका छन् ।
बायन प्यालेसमा अमिरसँग भएको भेटमा नवनियुक्त प्रधानमन्त्री शेख सबाले कुबेती सरकारको नेतृत्वका लागि आफूलाई पुनः छनोट गरेकोमा कृतज्ञता प्रकट गरेको बताइएको छ । उक्त अवसरमा उनले कुबेती कानुन र परिधि अनुसार राज्य तथा नागरिकको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कुबेतले गत शनिबार ५० सीटको संसदका लागि गरेको निर्वाचनमा कूल ३२६ जनाले प्रतिस्पर्धा गरेका थिए ।




