विश्व

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।

बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ । बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो ।

बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताएका छन् । तर उनको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताए ।

बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । उनी अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नेछन् ।

बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँडेको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिएका थिएनन् । राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा २ वटा कुकुर छन् र उनीहरुले दुबैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *