मध्य अमेरिकी देश ग्वाटेमालामा “एटा आँधीबेहरी” को कारण भएको मुसलधार वर्षा र तिब्र हावा पछि ठुलो नोक्सानी भएको छ । उक्त आँधीबेहरीमा कम्तिमा ५० जनाको मृत्यु भएको छ ।
ग्वाटेमालाका राष्ट्रपतिको अनुसार २५ जना मानिसको एकै दुर्घटनामा मृत्यु भएको हो ।
एउटा ठुलो पहाड पहिरोले बगाएपछि करिब २० घर हिलोमा डुबेको थियो र उक्त पहिरोमा दुई दर्जन भन्दा अधिक मानिसको मृत्यु भएको छ ।
ग्वाटेमालामा आधा दिनको अवधिमा करिब एक महिनामा हुने मात्राको वर्षा भएको थियो ।
लगातार भइरहेको वर्षाको कारण उद्धरकर्मी समेत प्रभावित भएका छन् र गम्भीर अवस्था भएको स्थानमा पुग्न सकेका छैनन् ।
गम्भीर रुपमा प्रभावित क्षेत्रमा सेन क्रिस्टोबल वेरापज शहर पनि रहेको छ जहाँ बाकि मानिसको मृत्यु भएको हो ।
ग्वाटेमालाका राष्ट्रपतिले भने, “ अहिले हामी त्यहाँ पैदल पुग्ने कोसिस गर्दै छौं किनभने यातायातको अन्य कुनै उपाय छैन ।”
यस भन्दा अर्को आँधीबेहरी निकारागुआ संग ठोकिएको थियो । त्यहाँ चार श्रेणीको तुफानको रुपमा पुगेको थियो ।
दुई सय २५ किलोमिटर प्रति घण्टाको गतिमा हावा चलिरहेको थियो र ठुलो वर्षा पनि भइरहेको थियो । त्यसपछि उक्त आँधी कम भएको थियो तर छिमेकी होन्डुरस र पछि ग्वाटेमाला पुगेको थियो ।
पुरै मध्य अमेरिकी क्षेत्रमा एटा आँधीबेहरीको कारण ७० भन्दा अधिक मानिसले ज्यान गुमाएका छन् ।
होन्डुरसमा पानीको सतह बढेको कारण घरहरुमा पानी पसेको छ र बाच्नको लागि मानिसहरु घरको छतमा चढेका छन् ।
करिब पाँच सय त्यस्तो अवस्थामा रहेका मानिसलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ ।
अमेरिका नेशनल हरिकेन सेन्टरको अनुसार, एटा आँधीबेहरी अझैपनि मध्य अमेरिकामा भारी वर्षा र जोखिमयुक्त बाढीको कारण बनेको छ ।
आँधीबेहरी अहिले उत्तर-पूर्वमा क्युबा र अमेरिकाको फ्लोरिडा प्रदेशतर्फ बढीरहेको छ ।यस हप्ताको अन्त्यमा आँधीबेहरीले भयानक रुप लिने अनुमान गरिएको छ ।




