विश्व

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दश लाख नाघ्यो

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभरि मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ ।

कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ भने विश्वका नेताहरुको परीक्षा लिएको छ । त्यसैगरी विज्ञानलाई पनि कोरोना महामारीले चुनौती दिदै निरिह बनाएको छ ।

“मृत्यु भएकाहरुको यो केबल सङ्ख्या मात्रै होइन, यसमा मानवीयताको कुरा छ, लाखौ मानिसको प्रेम जोडिएको छ, त्यसैले पनि यो धेरै फराकिलो र गहिरो छ,” चिकित्सा इतिहासका प्राध्यापक होवार्ड मर्केलले भने ।

मिचिगन विश्वविद्यालयमा कार्यरत मर्केलले यही कोरोना महामारीकै क्रममा ८४ बर्षिया आफ्नी आमालाई गुमाएका थिए ।

“निधन भएकाहरुको सङ्ख्यामा कोही हाम्रा दाइ छन्, कोही भाइ छन्, कोही हाम्रा दिदीबहिनी छन्, कोही बुवा आमा हुनुहुन्छ, त्यसैले यसले धेरैलाई प्रभावित पारेको छ । हामीमा मानवीयता छैन भने मात्रै यो सङ्ख्याले कुनै असर पार्दैन, नत्र यसले विक्षिप्त पार्दछ,” उनले भने ।

जोन हकिङ्स विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको मृतकहरुको सङ्ख्या जेरुसेलम वा अस्टिनकोभन्दा धेरै भएको पनि उनले बताए ।

त्यसैगरी सन् २००४ मा हिन्द महासागर क्षेत्रमा आएको भूकम्प र आँधीले गरेको क्षतिभन्दा धेरै मानवीय क्षति भएको पनि उल्लेख गरिएको छ ।

औसतमा दैनिक पाँच हजार मानिसको कोरोना भाइरसका कारण मृत्यु भइरहेको विवरणहरु सार्वजनिक भइरहेका छन् ।

बेलायत र युरोपेली मुलुकहरुमा महामारीको दोस्रो चरण चलिरहेको छ । संसारका अधिकांश देशहरुमा अहिले पनि दैनिक रुपमा हजारौ मानिसको मृत्यु भइरहेको छ ।

पछिल्लो विवरण अनुसार कोरोनाका कारण विश्वभरि कुल मृतकको सङ्ख्या दश लाख छ हजार ४ सय ७१ पुगेको छ ।

त्यसैगरी कुल संक्रमितको सङ्ख्या भने तीन करोड ३५ लाख ५७ हजार ९ सय ५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कुल संक्रमितमध्ये दुई करोड ४८ लाख ८२ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने ७६ लाख ६९ हजार ३ सय २ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।

कुल संक्रमितमध्ये ६५ हजार ३ सय २५ जना मात्रै गम्भीर अवस्थामा छन् भने अरु ७६ लाख तीन हजार ९ सय ७७ जनाको अवस्था सामान्य रहेको छ ।

संक्रतमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने त्यसपछि भारत, ब्राजिल, रुस कोलम्बीया, पेरु, स्पेन, मेक्सिको, अर्जेन्टीना र दक्षिण अफ्रिका क्रमशः अग्र दश मुलुकमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *