विश्व

अमेरिकामा न्यायाधीश नियुक्तिमा विवाद, चुनावी मुद्दा फेरिने सम्भावना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा आगामी साता एक महिलाको नाम सिफारिस गर्ने घोषणा गरेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहौल नयाँ मोडमा प्रवेश गरेको छ ।

सर्वोच्च अदालतमा उदारवादी छवि बनाउनु भएकी न्यायाधीश रुथ बाडर गिन्सबर्गको ८७ वर्षको उमेरमा गत शुक्रबार निधन भएपछि उक्त स्थान रिक्त भएको हो ।

हाल रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पनि राष्ट्रपति ट्रम्पले गर्ने मनोनयनलाई सिनेटले अनुमोदन गर्ने बताएर नयाँ बहसको सिर्जना गर्नु भएको छ ।

नर्थ क्यारोलिना राज्यमा भएको चुनावी सभामा बोल्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेट पार्टीले विरोध गरे पनि न्यायाधीशमा मनोनयन गरेरै छाड्ने बताउनुभयो । गिन्सबर्गको उत्तराधिकारी तत्काल चयन गर्न नाराजुलुस गरेका उत्साहित समर्थकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “प्रस्तावित नाम निकै प्रतिभाशाली र एकदमै कुशल महिला हुनेछिन् । म अर्को साता नै नाम सिफारिस गर्नेछु ।”

तर उहाँले ती सम्भावित उम्मेदवारका बारेमा भने केही बताउन चाहनु भएन ।

राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्ताव गरिने व्यक्तिको सुनुवाई समेतका सम्पूर्ण प्रक्रिया पूरा गर्न आफूसँग पर्याप्त समय रहेको दाबी गर्नुभयो ।

तर रिपब्लीकन पार्टीभित्रै आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनाव अघि न्यायाधीश नियुक्तीको कार्य गर्न नहुने बहस पनि चलेको छ किनभने यसअघि तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा न्यायाधीश नियुक्त गर्न खोज्दा चुनावी वर्ष भन्दै रिपब्लीकनको बहुमत रहेको सिनेटले नै उक्त कार्य रोकेको थियो ।

डेमोक्रेट पार्टीले सन् २०१६ मा स्थापित पूर्व मान्यता अहिले पनि कायम राख्नुपर्ने अडान राखेका छन् ।

अमेरिकाका विभिन्न चुनावी मतसर्वेक्षणले आगामी चुनावमा राष्ट्रपति ट्रम्पले जित्ने सम्भावना झिनो रहेको देखाइरहेका छन् भने सिनेटमा पनि रिपब्लीकन पार्टी अल्पमतमा पर्ने सम्भावना छ ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिको विषयलाई लिएर फेरि अमेरिकी चुनावमा नयाँ मोड सिर्जना भएको छ । कोरोना भाइरसको महामारीबाट झण्डै २ लाख मानिसको ज्यान गइसकेको, लाखौं मानिस बेरोजगार भएका र आपसी कलह बढ्दै गएको अवस्थामा त्यसलाई पन्छाएर राष्ट्रपति ट्रम्पले न्यायाधीश नियुक्तिलाई चुनावी मुद्दा बनाउन थाल्नु भएको छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले कुनै पनि किसिमको प्रस्ताव नोभेम्बर ३ को चुनावपछि गरिनु पर्दछ भन्नुभयो । उहाँले भन्नुभएको छ, “मतदाताहरुले राष्ट्रपति चयन गरुन् र निर्वाचित राष्ट्रपतिले न्यायाधीश छानोस् ।” बाइडेनले सर्वोच्चको न्यायाधीशमा कालाजातिकी महिला छनौट गर्ने घोषणा गरिसक्नु भएको छ, तर उहाँले नाम भने सार्वजनिक गर्नु भएको छैन ।

राष्ट्रपति ट्रम्पले पुनरावेदन अदालतका न्यायाधीशहरु एमी कोनी ब्यारेट, हिस्पानिक समुदायकी बारबरा लागोआ र एलिसन जोन्स रसिङको नाम प्रस्ताव गर्ने सम्भावना छ । पुनरावेदन अदालतका न्यायाधीश अमुल थापरको नाम समेत चर्चामा रहेको छ ।

सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शुमरले डेमोक्रेटिक पार्टीका सिनेट सदस्यहरुसँग शनिबार नै भिडियो कन्फरेन्स गरेर ट्रम्पको सम्भावित कदमका बारेमा विचार विमर्श गर्नु भएको छ । १०० सदस्यीय अमेरिकी सिनेटमा हाल रिपब्लीकनको ५३ सिट र डेमोक्रेट पार्टीको ४७ सिट रहेको छ ।

अमेरिकामा गर्भपतन अधिकार समेतका महत्वपूर्ण विषयमा निर्णय गर्न नयाँ न्यायाधीश नियुक्तिले महत्वपूर्ण भूमिका खेल्नेछ । अहिलेको न्यायाधीश नियुक्ति राष्ट्रपति ट्रम्पले गरेको खण्डमा अमेरिकी सर्वोच्च अदालतमा कन्जरभेटिभको बाहुल्य स्थापित हुने भन्दै उदारवादीहरुले चिन्ता व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *