एजेन्सी । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरसबाट संक्रमित भएका छन् । चौथो पटक स्वास्थ्य परीक्षण गर्ने क्रममा बोलसोनारोमा कोरोना पोजेटिभ पाइएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति बोलसोनारो लकडाउनको विरोध गर्दै आएका थिए । उनले कोरोना भाइरसलाई सामान्य रुपमा लिएका थिए । सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन छाडेका बोलसोनारो अन्ततः कोरोना भाइरसबाट संक्रमित भएका छन् । मास्क नलगाएका कारण उनको ब्यापक आलोचना हुँदै आएको थियो । उनले सामाजिक दुरी कायम राख्ने कुराको पनि खिल्ली उडाउँदै आएका थिए । संक्रमण फैलिन नदिन सावधानी नअपनाएका कारण ब्राजिल बढी प्रभावित देशको सूचीमा परेको छ । ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १६ लाख ७० हजारभन्दा बढी जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोनाकै कारण त्यहाँ झण्डै ६७ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।




