एएफपी। इजरायलमा मुख्य दलहरुबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक बर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी भइरहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको एक फौजदारी अभियोग लागे पनि आगामी चुनावी प्रतिस्पर्धा निकै रोचक हुने सङ्केत गरेको छ ।
गत वर्ष अप्रिल र सेप्टेम्बरमा सम्पन्न दुईवटा चुनावमा दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका मुख्य प्रतिद्वन्द्वी ब्लू एन्ड ह्वाइट पार्टीका अध्यक्ष बेन्नी गान्जले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् । उनीहरु दुबैले सरकार गठनका लागि साना दलसँग पनि समझदारी निर्माण गर्न नसक्दा तेस्रो चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको हो ।
पटकपटकको चुनावबाट थकित भइसकेका इजरायलीहरूले आगामी मार्च २ मा हुन लागेको आमचुनावमा पनि त्यति उत्साह देखाएका छैनन् । राजनीतिक सहमति नभए वर्षान्तमा चौथो चुनाव हुने अड्कलबाजी गर्न थालिएको छ ।
तर अघिल्लो चुनावभन्दा यसपटक भिन्न अवस्था देखा पर्दैछ । इजरायलका सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री रहनु भएका नेतान्याहुमाथि पदमै रहँदा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको छ ।
गत नोभेम्बरमा उहाँमाथिका प्रमाणहरु सार्वजनिक गरिएको थियो भने गत महिना अदालतमा मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा उनट्माीथि घूसखोरी, धोखाधडी र विश्वास भङ्ग गरेको आरोप लगाइएको छ ।
प्रधानमन्त्री नेतान्याहुले आफूविरुद्ध लगाइएका आरोपहरु झुठा रहेको भन्दै निरन्तर अस्वीकार गरिरहेका छन । उनीमाथि लागेको सबैभन्दा गम्भीर आरोप टेलिकम क्षेत्रको रहेको छ । नेतान्याहुमाथिको मुद्दाको सुनुवाई आगामी मार्च १७ तारिखबाट शुरु हुँदैछ ।
ट्रम्पको सहयोग
पछिल्लो चुनावदेखि नै नेतान्याहुलाई सहज हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौं लामो इजरायल–प्यालेस्टाइन द्वन्द्व अन्त्य गर्ने आफ्नो विवादास्पद योजना सार्वजनिक गर्नु भएको छ । तर प्यालेस्टानीहरुले इजरायली उद्देश्यहरूको पक्षपोषण गरेको भन्दै ट्रम्पको योजनालाई अस्वीकार गरिसकेका छन् ।
गत महिना यो पहलको घोषणा गर्नुअघि ह्वाइट हाउसमा ट्रम्पको छेउमै उभिएका नेतान्याहुले यसलाई यहूदी राज्यको लागि “ऐतिहासिक” अवसर भन्दै स्वागत गरेका थिए ।
अन्तिम क्षणका आरोप प्रत्यारोप
नेतान्याहुले विगतका चुनावी नाराझैं अन्तिम समयमा आफूलाई महान राष्ट्रवादी, दक्षिणपन्थी समर्थकका रुपमा उभ्याउने सङ्केत फेरि पनि देखिइ सकेको छ ।
शुक्रबार जेरूसेलम पोस्टसँगको अन्तर्वार्तामा उहाँले गान्जले मुख्य रूपमा अरब ज्वाइन्ट लिस्ट र यसका नेता अहमद टिबीको समर्थन बेगर सरकार गठन गर्न नसक्ने पुनः चेतावनी दिएका छन। गत चुनावमा नाटकीय रुपमा अरब ज्वाइन्ट लिस्टले १३ स्थानमा विजयी भएर संसदको तेस्रो ठूलो दल बनेको थियो ।




