एएफपी।विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ ।
कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकार विरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरेको पुष्टि गरेको छ । राजदूतलाई करिब तीन घण्टापछि छोडिएको थियो । गत हप्ता तेहरानमा ‘दुर्घटनाग्रस्त’ यूक्रेनी विमानलाई ‘भूलवश’ खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरिसकेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनपछि इरानका लागि बेलायती राजदूतलाई पक्राउ गरिएको हो ।
राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई बेलायतले ‘अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन’ भनेको छ । राजदूत मकेयर कार्यक्रम सकेर दूतावास फर्किने क्रममा कपाल काट्न एउटा सैलुनमा रोकिएका समय इरानी अधिकारीले उनलाई पक्राउ गरेका बताइएको छ । यसैबीच, बेलायतको विदेशमन्त्री डोमिनिक राबले एक वक्तव्य जारी गर्दै भनेकाेछ, “तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु ‘अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन’ हो ।”
तेहरानबाट सुरक्षाकर्मीले एक विदेशी केहीबेर सुरक्षा नियन्त्रणमा लिएको तर सोधपुछका क्रममा उनी इरानका लागि बेलायती राजदूत भएको थाहा भएपछि तत्काल रिहा गरिएको इरानको विदेश मन्त्रालय पनि एक विज्ञप्तिमार्फत बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, “उहाँलाई पक्राउ गरिएको थिएन तर गैर–कानूनीरूपमा गरिएको भेलामा ‘अपरिचित विदेशी’ देखिएपछि पक्राउ गरी सोधपुछ गरिएको थियो । उनको परिचय खुलेपछि प्रहरीले उहाँलाई करिब १५ मिनेटपछि रिहा गरेको थियो ।”




