बगदाद स्थित अमेरिकी दूतावासले इरान समर्थक सशस्त्र समूहहरूले आगामी एक दुई दिनमा इराकमा आक्रमण गर्न सक्ने चेतावनी दिएको छ ।
हाल इराकलाई संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको युद्धमा तानिएको छ भने अमेरिकी संरचना र इरान समर्थक समूह दुवैलाई लक्षित गरी आक्रमण गरिएको छ ।
बगदादमा रहेको अमेरिकी दूतावासलाई बारम्बार लक्षित गरिएको छ भने राजधानीको मध्य भागहरूमा थप आक्रमणको चेतावनी दिएको छ ।
इरानसँग जोडिएको इराकी आतंकवादी मिलिशिया समूहहरूले आगामी २४–४८ घण्टामा मध्य बगदादमा आक्रमण गर्न सक्ने दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ ।
यसैबीच इराकमा रहेका अमेरिकीहरूलाई देश छोड्नका लागि सुझावसमेत दिएको छ ।
इरान समर्थक समूह कताब हेजबुल्लाहले मार्च –१९ मा युद्व विराम घोषणा गरेपछि हालैका दिनहरूमा इराकमा आक्रमण दर घटेको थियो । यद्देपी समूहले आफ्नो पछिल्लो युद्व विरामको म्याद सकिए पछि बुधवार समय थपको घोषणा भने गरेको छैन ।
गत महिना वासिङ्टन र बगदादले आक्रमण रोक्न र इराकी क्षेत्रलाई अमेरिकी सुविधाहरू विरुद्ध आक्रमण गर्न प्रयोग नगरिएको सुनिश्चित गर्न सहयोग तीव्र पार्ने बताएका थिए ।
तर अमेरिकी दूतावासको बिहीबार जारी गरेकोे विज्ञप्तिमा इराकी सरकारले इराकी भूभागबाट आतङ्कवादी आक्रमणहरू नरोकेको जनाएको छ ।
पेन्टागनले युद्धको समयमा इराकमा इरान समर्थक सशस्त्र समूहहरू विरुद्ध हवाइ आक्रमण गरेको बताएको छ भने, वासिङ्टनले इराकी सुरक्षा बललाई लक्षित गरेको दाबीलाई अस्वीकार गरेको छ ।
उत्तरपश्चिमी इराकमा पिएमएफको विरुद्धमा बुधबार गरिएको आक्रमणको दोष पिएमएफले अमेरिका र इजरायललाई दिएको थियो भने आक्रमणमा तीन जना लडाकुहरूको मृत्यु भएको थियो ।
अमेरिकी दूतावासले विज्ञप्तीमा इराकमा रहेका अमेरिकी नागरिकहरूलाई आतङ्कवादी मिलिसियाहरूले अपहरणका लागि अमेरिकीहरूलाई लक्षित गरेको चेतावनी दिएको छ ।
सुरक्षा स्रोतहरूलाई उदृत गर्दै एएफपीले कम्तिमा ३० वटा ड्रोनले दुहोक प्रान्तलाई रातारात निशाना बनाएको जनाएको छ ।




