विश्व

युक्रेन–साउदी हवाई रक्षा सहकार्य

मध्यपूर्वमा बढ्दो ड्रोन आक्रमण र युरोपमा जारी युद्धबीच युक्रेन र साउदी अरेबियाबीच रक्षा सहकार्य नयाँ चरणमा प्रवेश गरेको छ । इरानी डिजाइनका ड्रोन हमलाहरूको चुनौती सामना गर्ने उद्देश्यले दुवै देशले हवाई रक्षा प्रणालीसम्बन्धी महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको राज्य भ्रमणका क्रममा भएको यस सम्झौताबारे दुई वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । उनीहरूका अनुसार युक्रेनले साउदी अरेबियालाई आधुनिक हवाई रक्षा प्रणाली विकासका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ । हाल साउदी अरेबियासँग केही महत्त्वपूर्ण कम्पोनेन्टको अभाव रहेको बताइएको छ, जसलाई पूर्ति गर्न किएभको अनुभव उपयोग गरिनेछ ।

रुससँगको युद्धका क्रममा युक्रेनले विकास गरेको एन्टी–ड्रोन प्रणाली अहिले विश्वमै प्रभावकारी मानिएको छ । राति–राति हुने रूसी ड्रोन आक्रमणलाई रोक्न युक्रेनले सस्तो इन्टरसेप्टर ड्रोन, इलेक्ट्रोनिक जामिङ उपकरण र एन्टी–एयरक्राफ्ट हतियारको संयोजन प्रयोग गर्दै आएको छ । यही अनुभवलाई अब खाडी क्षेत्रमा लागू गर्ने तयारी गरिएको छ ।

युक्रेनले आफ्ना सस्तो इन्टरसेप्टर प्रणालीहरूको सट्टामा खाडी राष्ट्रहरूले प्रयोग गरिरहेका महँगा हवाई रक्षा मिसाइलहरूसँग सहकार्य गर्ने प्रस्ताव पनि अघि सारेको छ । युक्रेनका लागि ती उन्नत मिसाइलहरू रुसी क्षेप्यास्त्र आक्रमण रोक्न अत्यावश्यक मानिन्छन् ।

अधिकारीहरूका अनुसार सम्झौताले केवल इन्टरसेप्टर आपूर्ति मात्र नभई समग्र हवाई रक्षा प्रणाली निर्माण, विभिन्न प्रविधिहरूको एकीकरण, कृत्रिम बौद्धिकता (एआई) र डेटा विश्लेषण प्रयोगमार्फत ड्रोन पहिचान तथा निष्क्रिय पार्ने क्षमतामा समेत सहकार्य समेटेको छ ।

राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत दुवै देशबीच रक्षा सहकार्यमा महत्त्वपूर्ण समझदारी भएको पुष्टि गर्नुभयो । उहाँले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्दै युक्रेन आफ्नो प्रविधि र अनुभव साझेदारी गर्न तयार रहेको बताउनुभयो । साथै, साउदी अरेबियासँग पनि युक्रेनका लागि उपयोगी क्षमताहरू रहेको र यो सहकार्य दुवै पक्षका लागि लाभदायक हुने उहाँले उल्लेख गर्नुभयो ।

यद्यपि, सम्झौताका सबै प्राविधिक विवरण सार्वजनिक गरिएको छैन । यसै क्रममा जेलेन्स्कीले साउदी अरेबियामा तैनाथ युक्रेनी एन्टी–ड्रोन विशेषज्ञहरूसँग पनि भेट गर्नुभएको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि तेहरानबाट हुन थालेका प्रतिकारात्मक ड्रोन तथा मिसाइल आक्रमणको सामना गर्न ती विशेषज्ञहरू खटाइएको हो ।

जेलेन्स्कीका अनुसार छोटो अवधिमै युक्रेनी विज्ञहरूले आफ्नो अनुभव प्रभावकारी रूपमा साझा गरेका छन् । उहाँले युक्रेनको रक्षा प्रविधि र अनुभवलाई अद्वितीय मानिएको उल्लेख गर्दै विश्वका विभिन्न देशहरू यसमा चासो राखिरहेको बताउनुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *