काभ्रेपलाञ्चोक । गत भदौ २३ र २४ को जेन जेड आन्दोलनका क्रममा तोडफोड एवं आगजनी गरिएको यहाँको बनेपा नगरपालिकाको क्षतिग्रस्त भवन तत्काल पुन:निर्माण नहुने भएपछि ५ नं वडास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयको भवनमा सार्ने तयारी थालिएको छ ।
बनेपा नगरले नगर अधिवेशनको निर्णयअनुसार गत माघ ४ गते नै शिक्षालयलाई पत्राचार गरेको करिब एक महिनापछि उक्त निर्णय सार्वजनिक गरिएको हो । नगरप्रमुख शान्ति रत्न शाक्यद्वारा हस्ताक्षरित पत्रमा शिक्षालयमा रहेका भवन र शिक्षालयले चर्चेको सम्पूर्ण जग्गा बनेपा नगरपालिका मातहत ल्याई सो स्थानमा बनेपा नगर कार्यालयको कार्यालय सञ्चालन गर्नेसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेकाले आगामी शैक्षिक सत्रदेखि त्यहाँ सञ्चालित पठनपाठन सारिने र सो ठाउँ खाली गर्न अनुरोध गरिएको छ । हाल १० नं वडा कार्यालयबाट अस्थायी रूपमा नगर कार्यालय सञ्चालन गर्दै आइएको छ ।
शिक्षालयले भने नगरपालिकाको अनुरोधमा सहमति जनाइ नसकेको बताइएको छ । नगरले पत्राचार गरी संरचना खाली गर्न अनुरोध गरेपछि शिक्षालयले कुनै प्रतिक्रिया जनाएको छैन । जेन जेड आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये सबैभन्दा बढी बनेपा नगर कार्यालयमा क्षति पुगेको थियो । नगर कार्यालयले भने स्थानीय सरकारको अधिकार प्रयोग गरी आफ्नो नाममा रहेको शिक्षालयको ८० रोपनी जग्गा र संरचनालाई मातहत ल्याउने निर्णय गरेको जनाएको छ । उक्त निर्णयको चौतर्फी विरोध भएपछि ‘स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर सभाबाट नै पारित गरी उक्त निर्णय गरेको’ स्पष्ट पारेको छ । नगरप्रमुख शाक्यले नगर सभाको निर्णय अनुसार नै शिक्षालयलाई पत्राचार गरेको बताए ।
यसैबीच ४२ वर्ष पुरानो भवन भएकाले मर्मततर्फ ध्यान नदिई नयाँ भवन बनाउन बजेटको खोजी भइरहेको नगर कार्यालयले जनाएको छ । आन्दोलनका क्रममा कार्यालयमा करिब रु दश करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्यांकनमा उल्लेख छ ।




