शिक्षा / स्वास्थ्य

नवोदित कलेजमा विज्ञान प्रदर्शनी सुरु, विद्यार्थीमा नवप्रवर्तन र अनुसन्धानको उत्साह

काठमाडौँ। आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले नवोदित कलेजमा विज्ञान प्रदर्शनी आयोजना गरिएको छ ।

सामाखुशीस्थित कलेजको आयोजनामा आज सुरु भएको प्रदर्शनीमा विज्ञान, व्यवस्थापन, नवीन आविष्कारलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ३५ वटा कक्ष (स्टल) राखिएका छन् ।

प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले गुणस्तरीय जनशक्ति उत्पादन र समावेशी शिक्षाको प्रवर्द्धनमा कलेजले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक दक्षता अभिवृद्धि तथा भविष्य निर्माणमा महानगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)का उपाध्यक्ष तथा कलेजका प्राचार्य राजेन्द्र अधिकारीले आजको शिक्षामा नवप्रवर्तन र स्वतन्त्र सोचको आवश्यकता औँल्याए । सिकाइले विद्यार्थीलाई आत्मनिर्भर, प्रतिस्पर्धी र व्यावहारिक बनाउने उल्लेख गर्दै उनले प्रदर्शनीलाई सकारात्मक नतिजा हासिल गर्ने प्रभावकारी माध्यमका रूपमा व्याख्या गरे ।

कलेजका सहप्राचार्य जिवी अधिकारीले प्रदर्शनीले विद्यार्थीलाई सिक्ने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा प्रतिस्पर्धी बन्ने अवसर प्रदान गरेको धारणा राखे ।

प्रदर्शनीअन्तर्गत ‘फुड कोर्ट’, ‘हेल्थ डेस्क’ तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको छ । काठमाडौँभित्रका एक दर्जनभन्दा बढी विद्यालयका विद्यार्थीले प्रदर्शनी अवलोकन गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *