आम चुनावमा तेस्रो स्थानमा रहे पनि राजनीतिक प्रभाव कायम राख्दै जेलमा रहेका थाई पूर्वप्रधानमन्त्री थाकसिन सिनावात्राको पार्टी विजयी पार्टी भुमजाइथाईसँग गठबन्धन वार्तामा जुटेको छ । यस कदमले थाइल्यान्डमा चुनावपछि सत्तासन्तुलन र थाकसिन वंशको भविष्यमा नयाँ प्रश्न खडा गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री अनुतिन चार्नविराकुल नेतृत्वको सैन्य र राजतन्त्र समर्थक भुमजाइथाई पार्टीले गत वर्ष कम्बोडियासँग सीमा विवादपछि भएको चुनावमा अप्रत्याशित जित हासिल गरेको थियो । फेउ थाई पार्टीका महासचिव प्रसर्ट चानरुआङथोङले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीसँग कुनै पूर्वनिर्धारित गठबन्धन छैन, तर देशको हित र जनताको भलाइ हाम्रो प्राथमिकता हो ।” उहाँका अनुसार पार्टी प्रतिनिधिहरू दिउँसो २ः३० बजे भुमजाइथाईसँग वार्ता गर्ने तयारीमा छन् ।
फेउ थाईको चुनावी मत सेयर आधाभन्दा बढी घटेर तेस्रो स्थानमा झरेको छ । यसले सुधारवादी पिपुल्स पार्टीलाई दोस्रो स्थानमा पु¥याएको छ । थाकसिन वंशले लामो समयदेखि थाइल्यान्डको सैन्य र शाही समर्थक अभिजात वर्गको प्रमुख चुनौतीका रूपमा काम गर्दै आएको छ । फेउ थाईको पछिल्लो मनोनीत योडचानन वोङ्सावत थाकसिनका भतिजा हुनुहुन्छ ।
थाकसिनले भ्रष्टाचार आरोपमा जेल सजाय भोगिरहनुभएको छ तर राजनीतिक विश्लेषकहरूले सम्भावित गठबन्धन र सम्झौताका आधारमा उहाँको रिहाइ अपेक्षा गरेका छन् । फेउ थाईको कमजोर चुनावी प्रदर्शनले सिनावात्रा वंशको प्रभुत्वमा चुनौती आए पनि यो वंशले अझै सत्तासाधक गठबन्धनमार्फत राजनीतिक पुनरागमनको अवसर पाउन सक्छ ।
विश्लेषकहरूले आगामी गठबन्धन वार्ताले थाइल्यान्डको राजनीतिक परिदृश्यमा स्थायित्व ल्याउने वा अस्थिरता थप्ने भन्ने महत्त्वपूर्ण सङ्केत दिने बताएका छन् । फेउ थाई र भुमजाइथाईबीचको वार्ता आगामी दिनहरूमा देशको राजनीतिक दिशा निर्धारण गर्न निर्णायक भूमिका खेल्ने देखिन्छ ।




