देश

घाइतेहरूको नि:शुल्क उपचार र मृतकका परिवारलाई १-१ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । साथै, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णयसमेत गरिएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर बझाङतर्फ फर्किँदै गरेको सु.प्र. ०२–००१ ख १११९ नम्बरको बस बिहीबार साँझ करिब साढे ७ बजे बडगाउँमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, पाँच जनाको धनगढीस्थित निसर्ग अस्पताल र चार जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

आवश्यक परेमा थप उपचारका लागि काठमाडौँसम्म लैजान हेलिकप्टर व्यवस्थापनको तयारी अवस्थामा रहेको प्रदेश सरकारले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *