विश्व

संयुक्त राष्ट्रसङ्घ–केन्द्रित विश्व व्यवस्थामा चीन प्रतिबद्ध

चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोसँग भेटवार्ता गर्दै चीन संयुक्त राष्ट्रसङ्घमा आधारित विश्व व्यवस्थालाई दृढतापूर्वक कायम राख्न इच्छुक रहेको बताउनुभएको छ ।

राष्ट्रपति सीको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना नयाँ ‘शान्ति बोर्ड’ स्थापना गर्ने योजना सार्वजनिक गरेपछि आएको हो । उक्त योजनाले संयुक्त राष्ट्रसङ्घको विकल्प वा प्रतिद्वन्द्वी संरचना सिर्जना हुनसक्ने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा पैदा गरेको छ ।

बेइजिङस्थित भव्य ग्रेट हल अफ द पिपुलमा भएको भेटका क्रममा राष्ट्रपति सीले प्रधानमन्त्री ओर्पोसँग भन्नुभयो, “चीन संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रणालीलाई दृढतापूर्वक जोगाइराख्न फिनल्यान्डसँग मिलेर काम गर्न इच्छुक छ ।” चिनियाँ राज्य प्रसारणकर्ता सिसिटिभीले यो भनाइ सार्वजनिक गरेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्ताव गर्नुभएको नयाँ समूहमा चीनलाई पनि सामेल हुन आमन्त्रण गरिएको भए पनि बेइजिङले हालसम्म सहभागिताबारे औपचारिक पुष्टि गरेको छैन । यद्यपि, राष्ट्रपति सीले संयुक्त राष्ट्रसङ्घ–केन्द्रित अन्तर्राष्ट्रिय व्यवस्थाको महत्त्वमा जोड दिँदै आएको सन्देश यस भेटमार्फत पुनः स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री ओर्पोले पनि राष्ट्रपति सीसँग ‘अन्तर्राष्ट्रिय मुद्दाहरू’ तथा ‘द्विपक्षीय सहकार्य’ का विषयमा खुला र गहिरो छलफल गर्न इच्छुक रहेको बताउनुभएको थियो । उहाँ चार दिने औपचारिक भ्रमणका क्रममा बेइजिङ पुग्नुभएको हो ।

प्रधानमन्त्री ओर्पो पछिल्ला दिनहरूमा बेइजिङ भ्रमण गर्ने पश्चिमी नेताहरूको शृङ्खलामा पर्नुहुन्छ । अमेरिकी राष्ट्रपति ट्रम्पका अस्थिर र अप्रत्याशित नीतिहरूका कारण उहाँका परम्परागत सहयोगीहरूमा असहजता बढिरहेका बेला चीनतर्फ कूटनीतिक ध्यान केन्द्रित भएको देखिएको छ । हालै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि बेइजिङ भ्रमण गर्नुभएको थियो भने बेलायतका प्रधानमन्त्री किर स्टार्मर बुधबार यहाँ आइपुग्ने अपेक्षा गरिएको छ ।

यद्यपि, मैत्रीपूर्ण प्रस्ताव र संवादका बावजुद बेइजिङ र हेलसिन्कीबीच केही संवेदनशील विषयमा मतभेद कायमै देखिन्छ । विशेष गरी युक्रेनमा रुसले थालेको युद्ध र आर्कटिक क्षेत्रमा प्रभाव विस्तारलाई लिएर दुवै देशका दृष्टिकोण समान छैनन् ।

फिनल्यान्डका रक्षामन्त्री एन्टी हक्कानेनले गत नोभेम्बरमा चीनले रुसको युद्ध प्रयासलाई ‘व्यापक रूपमा’ आर्थिक सहयोग गरिरहेको आरोप लगाउनुभएको थियो । चीन भने आफू युद्धमा तटस्थ रहेको दाबी गर्दै आएको छ र उसले मस्कोको युक्रेन आक्रमणको सार्वजनिक रूपमा कहिल्यै निन्दा गरेको छैन । चीन रुसको प्रमुख व्यापारिक साझेदारमध्ये एक पनि हो ।

यसैबीच नाटोका महासचिव मार्क रुटले रुस र चीनको बढ्दो गतिविधि तथा प्रभावलाई ध्यानमा राख्दै फिनल्यान्डसहित अन्य आर्कटिक राष्ट्रहरूको सुरक्षाका लागि सामूहिक रक्षा रणनीति निर्माण गर्न आह्वान गर्नुभएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *