टक्सार (भोजपुर)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। तर उम्मेदवारी प्रक्रियामा महिला उम्मेदवारको सहभागिता शून्य देखिएको छ।
जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीका अनुसार उम्मेदवारी दर्ता गराएका १२ जनामध्ये एक जना पनि महिला छैनन्। कानुनले कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने व्यवस्था गरे पनि मुख्य राजनीतिक दलहरूले नै महिला उम्मेदवार अघि नबढाएको उहाँले बताए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमा विभिन्न पुराना तथा नयाँ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। नेपाल मजदुर किसान पार्टीबाट राजाराम बासी, श्रम संस्कृति पार्टीबाट ध्रुव राई, नेकपा (एमाले)बाट शेरधन राई, राष्ट्रिय परिवर्तन पार्टीबाट जितेन्द्र राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेशप्रसाद ओझा तथा मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट चन्द्रप्रसाद राई उम्मेदवार बनेका छन्।
यस्तै, नेकपाबाट अजम्वर राई, नेपाली कांग्रेसबाट बालकृष्ण थापा, नेकपा (माओवादी)बाट देवानराज राई, जनता समाजवादी पार्टीबाट गोपालकुमार राई र आम जनता पार्टीबाट युवराज थापाले पनि उम्मेदवारी दर्ता गराएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार भोजपुरमा कुल १ लाख २५ हजार ७६६ मतदाता रहेका छन्। निर्वाचनका लागि जिल्लाभर ८७ मतदानस्थल र अस्थायीसहित १६१ मतदान केन्द्र तोकिएका छन्।




