खेलकुद

जनसहयोगमा शुक्लाफाँटामा क्रिकेट पूर्वाधार निर्माण हुँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयको खेलमैदानमा जनसहयोग सङ्कलन गरी क्रिकेट पूर्वाधार निर्माण सुरु गरिएको छ । कृष्णसार फाउन्डेसनको नेतृत्वमा आर्थिक सहयोग सङ्कलन गरी क्रिकेट मैदान तथा पिच निर्माण कार्य अगाडि बढाइएको हो ।

राज्यका तर्फबाट खेलकुद पूर्वाधारमा पर्याप्त लगानी नभएपछि स्थानीयस्तरमा सहयोग जुटाएर र नगरपालिकाको स्रोतसाधन प्रयोग गरी मैदान सम्याउने तथा पिच निर्माण भइरहेको फाउन्डेसनका अध्यक्ष विवेक रावलले जानकारी दिए । “खेलाडीहरू फुटेको पिच र च्यातिएको जालीमा प्रशिक्षण गर्न बाध्य थिए,” अध्यक्ष रावलले भने, “उहाँहरूको समस्यालाई मूल्याङ्कन गर्दै हामीले टर्फ र सिमेन्ट गरी दुवै प्रकारका पिच निर्माण गरिरहेका छौँ ।”

हाल मैदान सम्याउने र पिच निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । उक्त मैदानमा हाल महिला र पुरुष गरी क्रिकेटका ४० जना खेलाडी नियमित प्रशिक्षणमा छन् । प्रशिक्षणमा रहेका राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता खेलिसकेका आशिष लुहार, सुशील रावल, कैलाश ऐर, सुरज तिरुवा, सुवेश रावल, आशिका महरा, रविना धामी र मनिषा खत्रीलगायतका खेलाडीहरू आफैँ श्रमदानमा खटिएको प्रशिक्षक साजन गौतमले बताए ।

“खेलाडीहरूले पिचमा ढुङ्गा मिलाउने, बोक्ने, माटो बोक्ने सम्याउने लगायतको कार्यमा सहयोग गरिरहेका छन,” उनले भने, “क्रिकेट पूर्वाधार निर्माणका लागि अझै आर्थिक अभाव भएकाले सहयोगी हातहरूको खाँचो रहेको छ ।”

यसैबीच, निर्माणाधीन क्रिकेट मैदान र पिचको सुदूरपश्चिम क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी र नेपाल क्रिकेट टोलीका छनोटकर्ता (सेलेक्टर) युनिल श्रेष्ठलगायतका टोलीले अनुगमन गरेका छन् । अनुगमनका क्रममा सेलेक्टर श्रेष्ठले खेलाडीहरू आफैँ खटिएर ‘टर्फ पिच’ निर्माणमा लाग्नु उदाहरणीय कार्य रहेको बताए ।

सुदूरपश्चिम क्रिकेट सङ्घका अध्यक्ष जोशीले यहाँका खेलाडीहरूले राष्ट्रिय टोलीमा पुगेर राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै पूर्वाधार निर्माण भएपछि थप प्रतिभाशाली खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *