काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीको आसन्न ११औँ महाधिवेशनमा पराजय भए पनि आफूहरू सधैँ एमालेमै रहने स्पष्ट पारेका छन्। अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका पोखरेलले प्रतिस्पर्धामा जानेले हारलाई पनि स्विकार्ने मानसिकता बनाउनुपर्ने बताए।
बुधबार आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले महाधिवेशनमा आफूहरू पराजित भए पनि माधव नेपाल, भीम रावलहरूकै जस्तो बाटो रोज्दै नयाँ पार्टी खोल्ने सोच आफूहरूको नरहेको स्पष्ट गरे।
उनले महाधिवेशनमा विजय हुने विश्वास व्यक्त गर्दै पराजय भए पनि एमालेभित्रै रहेर सक्रिय राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे। “हामी जित्नेमा विश्वस्त छौँ, तर हार भए पनि एमाले नै भएर काम गर्छौँ,” उनले भने।
यसै क्रममा पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति होइन, कार्यशैलीप्रति आफूहरूको मुख्य असहमति रहेको समेत खुलाए। पार्टीभित्र लोकतान्त्रिक अभ्यास मजबुत हुनुपर्ने उनको धारणा थियो।




