काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि गठन गरिएको समितिको प्रतिवेदनमाथि आज महाधिवेशन सचिवालय बैठकमा छलफल गरिएको छ।
ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समितिले हालसम्म गरेको तयारीसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको र सोही विषयमा विस्तृत छलफल भएको जानकारी दिए। उनका अनुसार महाधिवेशनका लागि गठन गरिएका १४ वटै समितिले तयारीलाई अन्तिम चरणमा पुर्याइसकेका छन्।
बैठकले भक्तपुरको सल्लाघारी मैदानमा महाधिवेशनको उद्घाटन कार्यक्रम गर्ने र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने निर्णय गरेको गौतमले बताए।
यस्तै, दोस्रो विधान महाधिवेशनले तय गरेको नारा — ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ — लाई नै यसपटकको राष्ट्रिय महाधिवेशनको मुख्य नारा बनाइने निर्णय पनि बैठकले गरेको छ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुने कार्यक्रम छ।




