जुम्ला। जुम्लाको सिंजा गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ हुँदा गाउँपालिकाका शाखाहरू भाडामा बसेर काम गर्न बाध्य भएका छन्।
गाउँपालिकाले २०७९ चैत १३ गते आरएनभिजेभि शंखमुल ललितपुरसँग १६ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। निर्माणको कुल लागत ४ करोड ५८ लाख रुपैयाँमध्ये हालसम्म २ करोड ३९ लाख भुक्तानी भइसकेको छ।
ठेकेदार सुरेन्द्र महतका अनुसार बजेट सुनिश्चत नगर्दा काम ढिलो भएको हो। हाल ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ। पालिकाले म्याद थप गर्दै मंसिर ३० भित्र काम सम्पन्न गर्न निर्देशन दिएको छ।
सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीका अनुसार तीन पटक म्याद थप भए पनि ठेकेदारको लापरबाहीका कारण भवन अझै अलपत्र छ। गाउँपालिकाले चौथो पटक म्याद थप्न नहुने पनि स्पष्ट पारेको छ।




