देश

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली (तनहुँ)। तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने केन्द्र बनाउन तनहुँ सङ्ग्रहालय स्थापना गरिएको छ । नेपाल क्षेत्री समाज तनहुँको सक्रियतामा व्यास नगरपालिका–१ करङकाठस्थित समाजको भवनमा तनहुँ सङ्ग्रहालय स्थापना गरिएको हो ।

सङ्ग्रहालयमा तनहुँमा रहेका जातजातिका पहिरन, उनीहरुले प्रयोग गर्ने सामग्री राखिने सङ्ग्रहालय संयोजक देवीबहादुर बस्नेतले जानकारी दिनुभयो । तनहुँमा प्रमुख १६ जाति रहेकाले सङ्ग्रहालयमा ती सबै जातजातिका सामग्री राखिने बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ रहेका ब्राम्हण, क्षेत्री, दरै, कुमाल, बोटे, गुरुङ, राई, दुरा, दमै, कामी, सार्की लगायतले प्रयोग गर्ने पहिरन, उनीहरुले प्रयोग गर्ने सामग्रीलगायत सबै सामग्री सङ्ग्रहालयमा राख्छाँै । यो सङ्ग्रहालय नयाँ पुस्ताका लागि पाठशाला बन्नेछ । सङ्ग्रहालय विभिन्न जातजातिका धर्म, संस्कृति, रीतिरिवाज अध्ययनको बृहत् केन्द्र बन्ने विश्वास गरेका छौँ ।”

सङ्ग्रहालयले विभिन्न जातजातिका रहनसहन, वेषभूषासँगै सम्पूर्ण दिनचर्याबारे जान्ने अवसर प्रदान गर्ने उहाँको भनाइ छ । बस्नेतका अनुसार जिल्लामा बसोबास गर्ने सबै जातजातिका समुदायमा पुगेर उनीहरुले प्रयोग गर्ने वस्तुहरु सङ्कलन गरी सङ्ग्रहालयमा राखिनेछ । उहाँले भन्नुभयो, “सम्बन्धित जातजातिका समुदायमा पुगेर त्यस्ता सामग्री सङ्कलन गर्छौं, सहयोगका लागि अपिल पनि गरेका छौँ । नपाइने सामग्री भने खरिद गरिनेछ ।”

सङ्ग्रहालय संस्कृति संरक्षणसँगै जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पनि सहयोगी बस्नेतको विश्वास छ । उहाँका अनुसार सङ्ग्रहालयमा जिल्लाका ऐतिहासिक, पर्यटकीय गन्तव्यस्थलका बारेमा जानकारी दिने सामग्रीसमेत राखिएको छ ।

सङ्ग्रहालय स्थापनाका लागि गण्डकी प्रदेश सरकारले रु पाँच लाख बजेट सहयोग गरेको थियो । यस्तै नेपाल क्षेत्री समाज तनहुँले गत तिहारमा देउसीभैलो खेलेर रु चार लाख सङ्कलन गरेको छ । सङ्ग्रहालयमा राष्ट्रिय विभूतिका शालिकसमेत राखिने बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशका लागि विशेष योगदान दिने व्यक्तिहरुको पनि शालिक बनाउँछौँ ।” सङ्ग्रहालय स्थापनाका लागि बजेट आवश्यकपर्ने भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारसँग सहयोगको अपिल गरिने बस्नेतले बताउनुभयो ।

सङ्ग्रहालयका सहसंयोजक तिलक चौहानले स्थानीय सरकारले सङ्ग्रहालयमा ध्यान नदिएकाले क्षेत्री समाजको परिकल्पनामा सङ्ग्रहालय बनाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सङ्ग्रहालय तनहुँको मात्र नभई देशैभरिको सङ्ग्रहालयको केन्द्र बन्ने विश्वास गरेका छौँ । सङ्ग्रहालय स्थापना भएको एक वर्ष पूरा भएको छ, तर यहाँ राखिने सामग्री सङ्कलनको कामलाई अब तीव्रता दिन्छौँ ।”

क्षेत्री समाज नेपाल तनहुँका सदस्य एवं सङ्ग्रहालयका सचिव रामचन्द्र अधिकारीले सङ्ग्रहालय स्थापनाका लागि सहयोग गर्न सबै जातजातिलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “प्रत्येक टोल, गाउँ, वडासम्म पुगेर सामग्री सङ्कलनको अभियानमा जुट्दैछाँै ।”

नेपाल क्षेत्री समाज तनहुँका सचिव हरि कार्कीले समाजको सक्रियतामा सङ्ग्रहालय निर्माण गरिएपनि यसलाई सबै जातजातिको पहिचान झल्किने केन्द्र बनाइने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्ग्रहालयमा ऐतिहासिक, पुरातात्विक वस्तुको संरक्षण त हुन्छ नै सङ्ग्रहालय विद्यार्थीका लागि शैक्षिक अध्ययनको केन्द्र बन्नेछ ।”

सङ्ग्रहालयसँगै यहाँ पुस्तकालयसमेत बनाइएको छ । पुस्तकालयमा विभिन्न लेखकले लेख्नुभएको पुस्तक राखिएको छ । ती पुस्तकले तनहुँका ऐतिहासिक, सांस्कृतिकस्थलका बारेमा अध्ययन गर्न सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *