नुवाकोट । प्रसिद्ध तीर्थस्थल दुप्चेश्वरधाम परिसरमा स्थापना गर्नका लागि ठूलो आकारको भगवान गणेशको मूर्ति प्राप्त भएको छ। दुप्चेश्वर गाउँपालिका–६, करेजुङको पहरामा पशुपतिनाथको पर्यायका रूपमा रहेको दुप्चेश्वर मन्दिरमा हाल विविध संरचना निर्माण भइरहेका छन्।
दुप्चेश्वर मेलालाई लक्षित गरी नयाँ तथा मौलिक संरचना थप भइरहेका बेला नुवाकोटकै बेलकोटगढी नगरपालिका–१३ का युवक रूपक लोहनीले सामाजिक सहयोगस्वरूप चार फिट अग्लो पित्तलको भगवान श्रीगणेशको मूर्ति मन्दिरका पदाधिकारी, जनप्रतिनिधि र दुप्चेश्वर क्षेत्र विकास कोषका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन्।
लोहनीलाई मन्दिर व्यवस्थापन समिति स्थानीय जनप्रतिनिधि र कोषका प्रतिनिधिहरूको उपस्थितिमा सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ। लोहनीले धार्मिक र सामाजिक भावनाबाट प्रेरित भई यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
उनले नुवाकोटको विदुर–५ देविघाटस्थित जालपादेवी मन्दिर परिसरमा शिवकुण्डसहितको १०८ पानी फोहरा निर्माण गरी जालपा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेका थिए। हाल अमेरिका बस्दै आएका लोहनीले सो शिवमूर्तिको प्राण प्रतिष्ठा धार्मिक विधिपूर्वक सम्पन्न गरेका थिए।
यस्तै, उनले शक्ति माध्यमिक विद्यालय, बेलकोटगढी–१३, दाङ्मैमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक प्रोत्साहनका लागि तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ तेत्तीस पैसाको अक्षयकोष स्थापना गरेका छन्।




