विश्व

जोहरान ममदानी बने न्यूयोर्कका पहिलो मुस्लिम र दक्षिण एसियाली-अमेरिकी मेयर

काठमाडौँ । ३४ वर्षीय जोहरान ममदानी १०० वर्षभन्दा बढी समयपछि न्यूयोर्कका सबैभन्दा कान्छा मेयर बनेका छन्। उनी शहरका पहिलो मुस्लिम र दक्षिण एसियाली-अमेरिकी मेयर समेत हुन्।

ममदानीले पूर्व गभर्नर एन्ड्रयू कुओमोलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेका हुन्। कुओमोले डेमोक्र्याटिक प्राइमरीमा पराजयपछि स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवाले हार स्वीकार गर्दै ममदानीलाई बधाई दिएका छन्।

१९९१ मा युगान्डाको कम्पालामा जन्मेका ममदानी भारतीय मूलका हुन्। उनका बुबा प्रख्यात प्राध्यापक महमूद ममदानी र आमा चर्चित भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर हुन्। बाल्यकाल दक्षिण अफ्रिकामा बिताएपछि उनी सात वर्षको उमेरमा अमेरिकामा स्थायी रूपमा बसोबास गर्न पुगेका थिए।

ममदानीले ब्रोंक्स हाई स्कूल अफ साइन्स र बोडेन कलेजबाट अध्ययन पूरा गरे र सन् २०१८ मा अमेरिकी नागरिक बने। राजनीतिमा प्रवेश गर्नुअघि उनले न्यूयोर्कको क्वीन्समा सामाजिक कार्यकर्ता र फोरक्लोजर सल्लाहकारको रूपमा काम गर्दै आर्थिक कठिनाइका कारण घर गुमाउने परिवारहरूलाई सहयोग गर्थे। यही अनुभवले उनलाई नीति परिवर्तनका लागि सक्रिय राजनीतिमा ल्यायो।

सन् २०२० मा डेमोक्रेटिक सोसलिस्ट पार्टीको तर्फबाट न्यूयोर्क राज्य एसेम्बलीको ३६औं जिल्ला (एस्टोरिया, क्वीन्स) बाट चुनाव लडेका ममदानीले पहिलो प्रयासमै जितेका थिए।

मेयरमा ऐतिहासिक जितपछि ममदानीले भने, “आज रात हामीले इतिहास रच्यौं। नेल्सन मण्डेलाले भनेझैं, यो असम्भव देखिन्छ, जबसम्म पूरा हुँदैन। मेरा साथीहरू, हामीले यो गर्यौं।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *