मुख्य समाचार

रास्वपाद्वारा निर्वाचन खाका तयार गर्न सुझाव संकलन कार्यदल गठन,सात दिनभित्र मस्यौदा तयार गरी कात्तिक १५ भित्र उम्मेदवारी आह्वानको तयारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत निर्वाचन खाका तयार गर्न सुझाव संकलन कार्यदल गठन गरेको छ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति र केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्ने निर्णय गरेको हो। उक्त कार्यदलले प्रदेशमार्फत जिल्ला, निर्वाचन क्षेत्र र पालिका तहसम्मका सुझाव संकलन गरी उम्मेदवार छनोटको एकीकृत विधि तय गर्नेछ।

रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार कार्यदललाई सात दिनभित्र सुझाव संकलन गरी मस्यौदा तयार गर्न निर्देशन दिइएको छ। साथै, पार्टीले कात्तिक १५ भित्र उम्मेदवारी आह्वान गर्ने तयारी गरेको जनाएको छ।

यस्तै, बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक र राजनीतिक शक्तिसँग संवाद गर्न बनाइएका समितिहरूको कार्यक्षेत्र एकरूपता दिने निर्णय पनि गरेको छ। वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण सिर्जना गर्न गठित उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले गर्ने निर्णय बैठकले गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *