काठमाडौँ । जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ‘सामूहिक हत्या’ आरोपमा पक्राउ गर्नुपर्ने मागसहित काठमाडौँ प्रहरी परिसरमा जाहेरी दर्ता गर्न प्रयास गरेका छन् । आन्दोलनका क्रममा अस्वाभाविक बल प्रयोगका कारण १९ जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरू आक्रोशित बनेका हुन् ।
प्रदर्शनकारीहरूले सोमबार राति जाहेरी दर्ता गर्न खोज्दा प्रहरी परिसरमा केहीबेर तनावपूर्ण स्थिति उत्पन्न भएको थियो । मंगलबार पनि उनीहरूले आफ्नो माग पुरा गर्न निरन्तर प्रयास गरेपछि अन्ततः प्रहरीले जाहेरी दर्ता गरी यसलाई पूर्वन्यायाधीश गौरबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको जाँचबुझ आयोगमा पठाउने निर्णय गरेको छ ।
जाहेरी दर्ता अघि मृतकका परिवारसँग छलफल गरिएको र सुरक्षा निकायका अधिकारीबीच पनि लगातार बैठकहरू भएको बताइएको छ । तर, अहिलेसम्म प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध प्रत्यक्ष कानूनी कारवाहीका लागि कुनै ठोस कदम चालिएको छैन ।
सरकारी अधिकारीहरूले कानूनी प्रक्रिया र संवैधानिक जटिलता देखाउँदै तत्काल पक्राउ नगर्न ‘पर्ख र हेर’ रणनीति अवलम्बन गरेको बताएका छन् ।
सरकारले भदौ २३ र २४ गतेका घटनाबारे विस्तृत अध्ययन गर्न पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ । आयोगले घटनाका कारण, जिम्मेवारी र आगामी कदमबारे सिफारिससहित प्रतिवेदन बुझाउनेछ ।
यसैबीच, प्रहरीले समानान्तर रूपमा छुट्टै अनुसन्धान अघि नबढाउने निर्णय गरेको छ । प्रहरीका अनुसार आयोगले गरिरहेको छानबिनमै घटनाको पूर्ण सत्य तथ्य उजागर हुने भएकाले दोहोरो अनुसन्धान आवश्यक नपर्ने बताइएको छ ।



