कञ्चनपुर। चाडपर्वको समयमा वन क्षेत्रमा बढ्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कञ्चनपुरको कुण्डा सब–डिभिजन वन कार्यालयले द्रुत प्रतिकार्य टोली गठन गरी परिचालन गरेको छ।
वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार टोली गठनको उद्देश्य वन्यजन्तुको उद्धार, अवैध चोरी–सिकारी नियन्त्रण, वन क्षेत्रमा नियमित गस्ती, पैदावार चोरी–निकासी रोकथाम र समग्र वन संरक्षणलाई प्रभावकारी बनाउनु हो।
चाडपर्वका बेला सामुदायिक वनका उपभोक्ता चाडपर्व मनाउन व्यस्त हुने भएकाले वन क्षेत्रमा चोरी–तस्करी र सिकारीजस्ता जोखिम बढ्ने भएकाले टोली सक्रिय बनाइएको यादवले बताए।
१५ सदस्यीय टोलीमा आठवटै सामुदायिक वनका पदाधिकारी र वन कार्यालयका कर्मचारी सहभागी छन्। टोलीले दसैँ, तिहार, छठलगायत पर्वमा चौबिसै घण्टा वन क्षेत्रमा गस्ती गर्नेछ। “सामुदायिक वनका पदाधिकारी, कर्मचारी र सुरक्षाकर्मीबीच सहकार्य गरेर यसपालि वन क्षेत्र सुरक्षित राख्ने लक्ष्य लिइएको छ,” यादवले बताए।
उहाँका अनुसार भारतसँगको सीमा नजिकै रहेको बेलौरी र पुनर्वास नगरपालिकाभित्रका आठ सामुदायिक वन अझ संवेदनशील मानिएका छन्। सीमापारि हुने अवैध गतिविधि रोक्न पनि टोलीलाई सक्रिय राखिएको छ।
वन्यजन्तुको चोरी–सिकारी र पैदावार चोरी नियन्त्रणका लागि जानकारी दिन कार्यालयको मोबाइल नम्बर चौबिसै घण्टा खुला राखिएको छ। प्राप्त सूचनाका आधारमा टोली तत्काल घटनास्थलमा पुग्ने र स्थानीय प्रहरी तथा समुदायसँग समन्वय गर्ने व्यवस्था मिलाइएको छ।
यादवका अनुसार सो क्षेत्रमा चितुवा, पाटेबाघ, अजिङ्गर र जङ्गली हात्तीबाहेक अन्य हिंस्रक जनावर बेलाबेलामा मानव बस्तीमा प्रवेश गर्ने भएकाले जनसुरक्षा र जनावर उद्धारमा पनि टोली उपयोगी हुने छ।
सामुदायिक वन उपभोक्ता समितिसँगको छलफलपछि टोली औपचारिक रूपमा परिचालन गरिएको हो। उपभोक्ता समितिहरूले यो कदमलाई स्वागत गर्दै टोलीको सक्रियताले वन्यजन्तु संरक्षण र पैदावार चोरी–तस्करी नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।




