विश्व

रुसी अन्तरिक्ष प्रमुखले आठ वर्षपछि पहिलोपटक नासाका प्रमुखलाई भेट्ने

रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसका प्रमुख नासाका आफ्ना समकक्षीसँग भेट गर्न मङ्गलबार संयुक्त राज्य अमेरिका आइपुगेका छन् ।

युक्रेनमा मस्कोको आक्रमणले दुई अन्तरिक्ष अग्रगामी राष्ट्रबीचको सम्बन्धलाई शीतयुद्धयताकै निम्न स्तरमा पुर्‍याएपछि अन्तरिक्ष रुस र संयुक्त राज्य अमेरिकाबीच सहयोगका केही क्षेत्रहरूमध्ये एक भएको छ ।

“रोस्कोस्मोस प्रतिनिधिमण्डलका प्रमुख दिमित्री बाकानोभ नासाको नेतृत्वसँग भेट गर्न ह्युस्टन आइपुग्नुभएको छ । आठ वर्षमा रुसी र अमेरिकी अन्तरिक्ष एजेन्सीका प्रमुखहरूबीचको यो पहिलो आमनेसामने भेट हो”, रोस्कोस्मोसले एक विज्ञप्तिमा भनेको छ ।

नासाका कार्यवाहक प्रशासक सीन डफीसँगको बैठकमा बाकानोभले ‘क्रस–फ्लाइट कार्यक्रमको निरन्तरता’, ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) अपरेसनको विस्तार’ र आइएसएसलाई समुद्रमा परिक्रमा गर्ने योजनाका बारेमा पनि छलफल गर्नुहुने उहाँले विज्ञप्तिमा बताउनुभएको छ ।

रूसी अधिकारीले जुलाई ३१ का लागि निर्धारित स्पेसएक्सको क्रू ड्र्यागन अन्तरिक्ष यानमा प्रक्षेपण गर्नुअघि अन्तरिक्ष यात्री ओलेग प्लाटोनोभसहित नासाको क्रू–११ मिसन टोलीलाई पनि भेट्नुहुनेछ ।

रुसी अन्तरिक्ष एजेन्सीका भर्खरै नियुक्त प्रमुखले नासाको लिन्डन बी जोन्सन स्पेस सेन्टरका साथै अन्तरिक्षयान उत्पादन गर्ने बोइङ र स्पेसएक्सका सुविधाहरूको भ्रमण पनि गर्नुहुनेछ ।

युक्रेनमाथिको आक्रमणपछि रुसमाथि लगाइएका प्रतिबन्धहरूको एक भागका रूपमा धेरै पश्चिमी देशले रोस्कोस्मोससँगको साझेदारी बन्द गरेको भए पनि सोयुज आइएसएसमा पुग्नसक्ने केही अन्तरिक्षयानमध्ये एक हो ।

दशकौँदेखि देशका लागि गर्वको स्रोत रहेको रुसको अन्तरिक्ष कार्यक्रम वर्षौंदेखि दीर्घकालीन कोषको अभाव, भ्रष्टाचारका काण्डहरू र सन् २०२३ अगस्टमा लुना–२५ अनुसन्धान यानजस्ता असफलताहरूबाट पीडित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *