बेनी (म्याग्दी)। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रलाई खेलकुद पर्यटनसँग जोड्ने उद्देश्यले म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको छ।
अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’ अन्तर्गत समुद्री सतहदेखि ४,१९० मिटर उचाइमा रहेको आधार शिविरबाट नारच्याङसम्मको म्याराथन दौड सफलतापूर्वक सम्पन्न भएको हो।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले यस पहलले खेलकुदमार्फत पर्यटन प्रवर्द्धनको सम्भावना उजागर गरेको जानकारी दिनुभयो। प्रतियोगिता ३८ किलोमिटर दूरीको मौरिस हर्जोग पदमार्ग हुँदै सञ्चालन भएको थियो, जसमा ४० जनाको सहभागिता रहेको थियो।
नारच्याङका पर्यटन अभियन्ता तेज गुरुङले उच्च हिमाली क्षेत्रमा पहिलोपटक म्याराथन जस्तो साहसिक खेलकुद आयोजना हुनुले स्थानीयहरूमा उत्साह थपिएको बताए। “यसअघि प्रकृतिमा रमाउन आउने पर्यटक अब साहसिक खेलमा सहभागी हुन पनि आउनेछन्,” उनले विश्वास व्यक्त गरे।
गण्डकी प्रदेश एथलेटिक्स संघका कोषाध्यक्ष राजु थापाका अनुसार यो प्रतियोगिता जिल्लास्तरको पहिलो म्याराथन हो। आगामी दिनमा राष्ट्रियस्तरको अल्ट्राम्याराथन आयोजना गर्ने सम्भावना रहेको उहाँले बताए।प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन्।
सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगद्वारा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरिएको थियो। उक्त उपलक्ष्यमा ‘हीरक महोत्सव’ मनाउँदै हर्जोगको नाममा रहेको पदमार्गको प्रचारप्रसार गर्न खेलकुद गतिविधि आयोजना गरिएको हो।
गाउँपालिकाले यसअघि पनि अन्नपूर्ण आरोहण दिवसको अवसरमा छोटो दूरीको दौड तथा विविध खेलकुद कार्यक्रम आयोजना गरिसकेको छ। गाउँपालिका कार्यालयले भविष्यमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीमार्फत हिमाली पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ।




