काठमाडौँ। नेपाल पर्यटन बोर्डको नियमित ‘फोटो–नेपाल’ प्रदर्शनी कार्यक्रमअन्तर्गत ‘कुन्डलिनी–२’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी तथा ‘कुन्डलिनी योग’ पुस्तकको लोकार्पण गरिएको छ। बोर्ड परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा ती दुवै कार्यक्रम सम्पन्न भएका हुन्।
चित्रकार भीमप्रसाद शर्माको यो तेह्रौँ एकल चित्रकला प्रदर्शनी थियो। कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा पर्यटनमन्त्री पाण्डेले सिर्जनात्मक प्रदर्शनीहरूले कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने बताए। उनले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिएकामा बोर्डको प्रशंसा गर्दै कला, संस्कृति र सांस्कृतिक सम्पदाको जगेर्नामा सबैको सहकार्य र सक्रियता आवश्यक पर्ने उल्लेख गरे।
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन बोर्डले आगामी दिनमा कलाकार र फोटोग्राफरहरूसँग सहकार्य गरी मुलुकको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। यही जेठ १० गतेसम्म चल्ने यो प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई निःशुल्क रूपमा खुला गरिएको थियो।
बोर्डले सञ्चालन गर्दै आएको फोटो–नेपाल अभियानअन्तर्गत बोर्डको पोर्टलमा मासिक फोटो प्रतियोगितासमेत जारी छ। यस प्रतियोगितामा हरेक महिनाका उत्कृष्ट तीन तस्वीरलाई जनही रु २५ हजार नगद पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ।
नेपालका हिमाल, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, उजागर नभएका र प्रचार नपुगेका गन्तव्यहरू समेटिएका तस्वीर पठाउन बोर्डले देशविदेशका फोटोग्राफरलाई आह्वान गरेको छ। बोर्डले सन् २०१६ फेब्रुअरीदेखि सुरु गरेको ‘फोटो–नेपाल’ अभियानअन्तर्गत हालसम्म एक सयभन्दा बढी कला तथा फोटो प्रदर्शनीहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ।




