जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–४ मा अवस्थित रमणीय गिडिदहलाई पर्यटकीय केन्द्रको रूपमा विकास गरिने भएको छ। तातोपानी गाउँपालिकाले पर्यटन प्रवर्द्धनको विशेष कार्यक्रम अन्तर्गत गिडिदहलाई आकर्षक पर्यटकीय स्थल बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने लक्ष्य राखेको छ। यसै उद्देश्य अनुरूप गाउँपालिकाले भ्रमण वर्ष आयोजना गर्ने तयारी गरिरहेको छ।
गाउँपालिकाका प्रमुख नन्दप्रसाद चौलागाईंले गिडिदहको पर्यटकीय सम्भावनालाई उजागर गरी भ्रमण वर्षलाई सफल बनाउन स्थानीय बासिन्दासँग सहकार्यको लागि आह्वान गरेका छन्। उनले गिडिदह क्षेत्रमा आर्थिक गतिविधि बढाउने, स्थानीय संस्कृतिको संरक्षण गर्ने र पर्यावरणीय सम्मेलन आयोजना गर्ने योजना रहेको जानकारी दिए।
वडा नम्बर ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले भ्रमण वर्ष कार्यक्रम सरोकारवाला सबैको सहभागितामा घोषणा गरिएकोले अपेक्षित लक्ष्य हासिल गर्न सबैको सहयोग अपरिहार्य रहने बताए। गिडिदह भ्रमण वर्षमा आउने पर्यटकहरूको सुविधाका लागि पदमार्ग, पुल र धर्मशाला लगायतका भौतिक पूर्वाधार निर्माणको कार्य हाल तीव्र गतिमा भइरहेको वडाध्यक्ष रोकायाले जानकारी दिए।
गाउँपालिकाले वडा कार्यालयको हाँकु त्रिवेणीदेखि फूलचउल्यासम्मको १३ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ। गिडिदहको विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा १ करोड ६० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए।




