देश

मानव बेचबिखन मुद्दामा पाँच वर्ष सजाय तोकिएका व्यक्ति पक्राउ

काठमाडौं ।मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोरखा, गोरखा नगरपालिका-११ घर भएका २१ वर्षीय निरज ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाडौंको गत मंसिर ५ गतेको फैसलाअनुसार उनलाई उक्त मुद्दामा पाँच वर्ष कैद सजाय र नगद २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार थिए।

उनलाई मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा, गोरखा नगरपालिका-११ बाट पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार ढकालले टोखा नगरपालिका-९ मा घर भाडामा लिएर खाजाघर सञ्चालन गरेका थिए। उक्त खाजा घरमा बालिका राखेर उनले यौनधन्दामा संलग्न गराएका थिए।

पीडित बालिकाको उद्धार गरी ढकाललाई प्रहरीले २०७९ मंसिर २५ गते पक्राउ गरी अदालत पेश गरेको थियो। अदालतले उनलाई २०७९ पुस ७ गते एक लाख धरौटीमा रिहा गरेको थियो।

२०८१ मंसिर ८ गते अदालतले फैसला गर्दै ढकाललाई पाँच वर्षको सजाय तोकेको थियो। त्यसयता ढकाल फरार रहेका थिए।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *