विश्व

ट्रम्पको पत्र ‘चाँडै’ प्राप्त गर्ने इरानको भनाइ

इरानका शीर्ष कूटनीतिज्ञले आफ्नो मुलुकसँग आणविक सम्झौता गर्न आह्वान गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र एउटा अरब देशले चाँडै नै तेहरानमा पुर्‍याउने बताएका छन् ।

“पत्र अहिलेसम्म हामीसम्म पुगेको छैन तर एउटा अरब देशका दूतले चाँडै तेहरानमा पुर्‍याउने तयारी गरिएको छ”, विदेशमन्त्री अब्बास अराघचीले मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूलाई भन्नुभयो ।

उहाँले अरब देशको पहिचान वा पत्र पुर्‍याउने समयबारे थप विवरण दिनुभएन ।

शुक्रबार ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई तेहरानको आणविक कार्यक्रममा नयाँ सम्झौता गर्न वार्ताको आह्वान गर्दै पत्र लेखेको बताउनुभएको थियो । उहाँले अन्यथा नत्र सम्भावित सैन्य विकल्पको सामना गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

तर इरानले जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्पले पुनःस्थापित गरेको ‘अधिकतम दबाब’ नीतिअन्तर्गत वार्तालाई अस्वीकार गरेको छ ।

यस नीतिअन्तर्गत ट्रम्पले सन् २०१८ मा इरानको आणविक सम्झौताबाट हात झिक्नुभएको थियो र तेहरानमाथि व्यापक प्रतिबन्धहरू पुनः लगाउनुभएको थियो र नयाँ प्रतिबन्धहरू पनि लगाउनुभएको थियो ।

फेब्रुअरीमा खामेनीले आणविक सम्झौताबाट वासिङ्टनको फिर्तीलाई उद्धृत गर्दै अमेरिकासँग वार्ता नगर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

गत हप्ता उहाँले वार्तामा जोड दिने केही सरकारको ‘धम्कीपूर्ण’ रणनीतिको पनि निन्दा गर्नुभएको थियो । उहाँले वार्ता ‘समस्याहरू समाधान गर्ने’ उद्देश्यले नभई ‘प्रभुत्व’ का लागि भएको बताउनुभएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *