काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरे । उनले आफैँ आफ्नो पीठ थप्थप्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन नरहेको बताए ।
‘प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, आफैँ आफ्नो पीठ थप्थप्याएर आफैँले आफूलाई प्रमाणपत्र दिएर आफैँले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैनन्’ उनले भने ।
उनले नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल गर्न सुझाव दिए ।
उनले बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल शुरु गर्न आग्रह गरे । ‘नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौं,’ उनले भने, ‘बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल शुरु गरौं, हामी सहभागी हुन्छौं । संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो हुँदैन ।’
उनले संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिले पनि देशको भलो नहुने बताए ।




