काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले सरकारले अध्यादेशमार्फत शासन गर्नुलाई गलत कदम भनेका छन् । उनले संसदको अनुमति बिना अध्यादेश ल्याउनु लोकतन्त्रको विरोधमा रहेको टिप्पणी गरे ।
आज गृहनगर विराटनगरमा आयोजित नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेता कोइरालाले संसदलाई ‘धकेलेर’ अध्यादेश ल्याउनु सरकारको गल्ती भएको स्पष्ट पारे । उनले भने, “संसदलाई नत्थी गरेर अध्यादेश ल्याउनु गलत हो, यो लोकतन्त्रको हनन हो । दुईतिहाइ बहुमत हुँदा विधेयक सजिलै पास गर्न सकिन्छ, त्यसपछि किन अध्यादेशको आवश्यकता पर्यो ? यसले आमजनमानसमा नकारात्मक असर पारेको छ । संसदलाई छलेर अध्यादेश ल्याउने गलत प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक छ।”
कार्यक्रमको अवसरमा वरिष्ठ पत्रकार किशोर नेपाललाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको थियो।




