देश

हर्क साम्पाङले ‘ड्रामा’ गरेको खानेपानीमन्त्री यादवको आरोप

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी समस्याका विषयमा ‘ड्रामा’ गरेको आरोप लगाएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले त्यसरी नाटक गरेर खानेपानीको समस्या समाधान पनि नहुने बताएका हुन् ।

उनले भनेका छन्- ‘धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर साम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गर्नुभएको छ । यस्ता ड्रामा गर्नुभन्दा गम्भीर भएर काममा लाग्नु जरुरी छ ।’

मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएको पनि बताए । यस विषयमा सङ्घीय सरकारले काम अघि बढाउन लागेको पनि उनले बताए ।

केही दिनअघि धरानको खानेपानी आयोजना निर्माणका लागि बजेट माग्दै मेयर साम्पाङ थोत्रो गाग्री बोकेर काठमाडौं आएका थिए । सोही गाग्री बोकेर उनी मन्त्री यादवसँग भेट्न सिंहदरबार प्रस्थान गरेका थिए । तर, सिंहदरबारको गेटमा प्रहरीले उक्त गाग्री भित्र लैजान नदिएर खोसेको थियो ।

मन्त्री यादवले आफ्नो कार्यकाल मा खानेपानी तथा सरसफाई नियमावली २०८१ लागू भई राजपत्रमा सार्वजनिक गरेको जानकारी गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *