काठमाडौं ।सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेस सभापति भनेर सम्बोधन गरेका छन् ।
पतंजलि योगपीठले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले विदेशी पाहुना योगगुरु रामदेव र आचार्य बालकृष्णकै सामुन्ने वरिष्ठ नेता पौडेललाई कांग्रेस सभापति भनेर सम्बोधन गरेका हुन् ।
पौडेल कांग्रेस सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए । पार्टीको १४औं महाधिवेशनमा पौडेल फेरि सभापतिका आकांक्षी छन् । तर पौडेल सभापति नहुँदै अध्यक्ष नेपालले सभापति बनाइदिएका छन् ।
पतंजलिको कार्यक्रममा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता थियो ।
कार्यक्रममा पतंजलिले २ वटा स्याटेलाइट टेलिभिजन उद्घाटन गरेको छ ।कार्यक्रमबाट बाहिरिन हतारिएका अध्यक्ष नेपालले छिट्टै मन्तव्य राख्न पाएका थिए । तर उनले सम्बोधनमा त्रुटि गरे ।
पौडेललाई नेपाली कांग्रेसका सभापति भनेको थाहा पाएपछि उनले सच्याउँदै भने, ‘भविष्यको हो कि हाम्रो रामचन्द्रजी । प्रधानमन्त्रीलाई चिसो पस्ला तर केही छैन ।’
अध्यक्ष नेपालले यसो भनिरहँदा प्रधानमन्त्री देउवा मुसुमुसु हाँसिरहेका थिए । अध्यक्ष नेपालले त्रुटि गर्दा कार्यक्रममा हाँसो उठेको थियो ।




