कावासोती । ८६ वर्षीया टिकामाया चन्द ठकुरी हातमा लौरो समाती बैंकको सिँढीमा बसेकी छिन् । बिहान चार बजेदेखि उनी सिँढीमा बसकी हुन् । उनी बसेको घरको दोश्रो तलामा मेगा बैङ्कको कार्यालय छ । बिहानीको समयमा चिसोको आभास हुन थालेको छ । तर उनलाई कुनै प्रवाह छैन् । सिमेन्टको भूईमा बसेर उनी बैंक खुल्ने प्रतिक्षामा रहेका छिन् ।
सामाजिक सुरक्षा भत्ता बुझ्न उनी बिहानै चार बजे बैङ्क परिसरमा आएकी हुन् । कावासोती नगरपालिका–१ कोइलापानीदेखि झण्डै ७ किलोमिटर पैदल हिडेर आएकी उनलाई बैङ्क चाँडै खुलेर भत्ता बुझ्न पाए हुन्थ्यो भन्ने लागेको छ । उनी जस्तै ६२ वर्षीया फुलकुमारी सुनार समेत बिहान चार बजेदेखि बैङ्क खुल्ने प्रतिक्षामा छिन् । “दश बजे आए पालो आउँदैन, पैसा पनि पाइँदैन, त्यसैले बिहानै आएकी हुँ” उनले भनिन् । उनीसँगै अन्य ज्येष्ठ नागरिक समेत बिहानै चार बजेदेखि बैङ्क खुल्ने प्रतिक्षामा रहेका छन् ।
कोभिड–१९ को जोखिम हुन सक्ने भन्दै बैङ्कले दैनिक ३० जनालाई मात्र कुपन प्रदान गर्दै आएको छ । एक दिनमा ३० जनाको मात्रै पालो आउने भएपछि यहाँका ज्येष्ठ नागरिकहरु बिहानैदेखि कुपनका लागि बैङ्कको ढोकामा लाइन बस्ने गरेका छन् । बिहान ६ बजे तीस वटा कुपन बितरण गरिसकेको बैङ्कका सूरक्षाकर्मीले बताए । अब आउनेले कुपन नपाउने उनको भनाइ छ । तर कुपन नपाएपनि भत्ताको पैसा निकाल्न पाइन्छ कि भनेर केही ज्येष्ठ नागरिक लाइनमै बसेका देखिन्छ ।
कावासोती नगरपालिका–१ का वडाध्यक्ष नारायण पन्तले बैङ्कले जिम्मेवारीपूर्वक कार्य नगर्दा समस्या भएको बताए । “बैङ्कले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने थियो, तर कुनै प्रतिक्रिया दिदैनन्”, उनले भने । कावासोती–१ मा करिब ६ जनाले सामाजिक सुरक्षा भत्ता पाउने सूचिमा छन् । बैङ्कले उपयुक्त व्यवस्थापन नगरिदिँदा भीडमा ज्येष्ठ नागरिक थप सङ्क्रमण जोखिममा रहेको उनको भनाइ छ ।
सामाजिक सूरक्षा भत्ता बितरणको व्यवस्था बैङ्कबाट भएकाले कोरोना सङ्क्रमण जोखिमको यो समयमा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने वडाध्यक्ष पन्तले बताए । कावासोती नगरपालिका–२ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नगरपालिकाले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दशैंअघि नै बैङ्कमा पठाइसकेको बताए । अशक्त र ज्येष्ठ नागरिकको संरक्षक कायम गरी सिफारिसका आधारमा लिन सक्ने बनाउँदा समस्या नआउने उनको भनाइ छ । बैङ्कहरुले सामाजिक सुरक्षा भत्ता सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने सुझाव उनको छ ।




