प्रविधि

नेपाल टेलिकमले थ्रीजी सेवा क्रमशः बन्द गर्दै फोरजीमा लैजाने, सिम निःशुल्क साट्न आग्रह

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। कम्पनीले थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई भ्वाइस कल र एसएमएसमार्फत सिम परिवर्तनबारे जानकारी दिन थालेको छ।

टेलिकमका अनुसार थ्रीजी सिम प्रयोगकर्ताले आफ्नो पुरानो सिमलाई निःशुल्क रूपमा फोरजी सिममा परिवर्तन गर्न सक्नेछन्। यसका लागि ग्राहकले आफूलाई पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा पुगेर सिम साट्न सक्ने व्यवस्था गरिएको छ।

सिम परिवर्तनका क्रममा ग्राहकले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत परिचय खुल्ने कुनै आधिकारिक कागजात देखाउनुपर्नेछ। त्यसपछि नयाँ फोरजी सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ।

कम्पनीले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा रूपान्तरण गर्ने अभियानलाई तीव्र बनाएको बताएको छ। थ्रीजीको तुलनामा फोरजी प्रविधिमा मोबाइल इन्टरनेटको गति छिटो हुने, नेटवर्क गुणस्तर सुधार हुने तथा सेवा थप प्रभावकारी हुने भएकाले ग्राहकले प्रत्यक्ष लाभ पाउने विश्वास टेलिकमको छ।

यस्तै, आफ्नो सिम फोरजी हो वा होइन भन्ने जानकारी लिन ग्राहकले ८८८३ डायल गर्न सक्नेछन्। उक्त सेवामार्फत फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको VoLTE सेवा समेत सहजै सञ्चालन गर्न सकिने कम्पनीले उल्लेख गरेको छ।

नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले प्रविधि स्तरोन्नतिसँगै ग्राहकलाई थप गुणस्तरीय सेवा दिन थ्रीजीबाट फोरजीमा रूपान्तरणलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *