काठमाडौँ । नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताहरूका लागि डेनमार्क र दक्षिण कोरियामा पनि अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा सुरु गरेको छ।टेलिकमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यी दुई देशमा यो सेवा सञ्चालनमा आएको जानकारी दिएको हो।
यस सेवाका लागि नेपाल टेलिकमले डेनमार्कको ‘टेलिनोर’ र दक्षिण कोरियाको ‘एसके टेलिकम’ सँग व्यावसायिक सम्झौता गरेको छ।
यसअघि क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान (आरओसी) मा उपलब्ध रहेको यो सेवा अब डेनमार्क र दक्षिण कोरिया थपिएसँगै कुल ८ वटा देशमा पुगेको छ। टेलिकमले यी देशका कुल ९ वटा सेवा प्रदायकहरूसँग सम्झौता गरी यो सुविधा प्रदान गरिरहेको छ।
अन्तर्राष्ट्रिय रोमिङ सेवा अन्तर्गत विदेशमा रहँदा पनि नेपाल टेलिकमकै सिम प्रयोग गरी नेपालमा जस्तै भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सकिन्छ। भोल्टी प्रविधिमार्फत प्रयोगकर्ताले एचडी गुणस्तरको उच्च स्तरीय भ्वाइस कलको अनुभव लिन सक्नेछन्।
नेपाल टेलिकमका अनुसार यो सेवा प्रयोग गर्नका लागि ग्राहकको मोबाइल सेटले भोल्टी सपोर्ट गर्ने हुनुपर्छ भने मोबाइलमा यो फिचर एक्टिभेट गरिएको हुनुपर्छ।
यदि सेवा सुचारु छैन भने ग्राहकले आफ्नो मोबाइलबाट *444# डायल गरी ‘Activate VoLTE’ विकल्प छनोट गर्नुपर्नेछ।




