देश

७४९ स्थानीय तहमा फोरजी सेवा विस्तारः सचिव बस्नेत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले देशभरका ७ सय ४९ स्थानीय तहमा फोरजी सेवाको पहुँच विस्तार भइसकेको बताएकी छन्।

बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव समारोहमा बोल्दै, टेलिकम सञ्चालक समितिकी अध्यक्षसमेत रहेकी बस्नेतले डिजिटल विभाजन न्यूनीकरणमा उल्लेखनीय प्रगति हासिल भएको बताइन्।

नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात् गर्दै टेलिकमले सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको उनको भनाइ थियो। विश्वव्यापी रूपमा प्रविधिमा भइरहेको तीव्र परिवर्तनसँगै सेवाग्राहीको माग र अपेक्षा पनि बढ्दै गएको उनले उल्लेख गरिन्।

उनकाअनुसार अधिकांश सहर तथा गाउँमा ‘फाइबर टु द होम’ सेवा विस्तार भएसँगै उच्च गतिको ब्रोडब्यान्ड सेवा सर्वसाधारणको पहुँचमा पुगेको छ। देशको प्रमुख दूरसञ्चार सेवा प्रदायकका रूपमा टेलिकमले कनेक्टिभिटी विस्तार गर्दै टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेशनजस्ता सेवाको विकासमा थप ध्यान दिनुपर्ने उनले बताइन्।

विशेषगरी दुर्गम क्षेत्रमा ई–डिजिटल सेवाको पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधार निर्माण अपरिहार्य रहेको सचिव बस्नेतको भनाइ छ। यसबाट जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पर्नुका साथै मुलुकको डिजिटलाइजेसन अभियानले थप गति लिने विश्वास उनले व्यक्त गरिन्।

टेलिकमले सेवाको गुणस्तर र सर्वसुलभता अझ सुदृढ बनाउनुपर्ने उल्लेख गर्दै उनले प्रत्येक नेपाली बसोबास गर्ने स्थानमा वायरलेस र वायरलाइन दुवै प्रकारका दूरसञ्चार सेवाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइन्।

साथै, टेलिकमका कर्मचारीहरूको वृत्तिविकासलगायत माग सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको जानकारी पनि उनले दिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *