देश

फोरजी सञ्जाल सुदृढ गर्दै एनसेल, देशभर २५० नयाँ टावर सञ्चालनमा

दूरसञ्चार सेवा प्रदायक एनसेलले आफ्नो फोरजी नेटवर्कलाई थप बलियो बनाउँदै सन् २०२५ मा देशभर २५० नयाँ टावर सञ्चालनमा ल्याएको छ। नेटवर्कको पहुँच विस्तार र सेवाको गुणस्तर सुधार गर्ने उद्देश्यसहित कम्पनीले यो विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।

नयाँ टावरसँगै एनसेलले करिब २ हजार २ सय टावरमा क्षमता अभिवृद्धि पनि गरेको छ। यसबाट ग्राहकले अझ स्पष्ट भ्वाइस सेवा र छिटो गतिको इन्टरनेट प्रयोग गर्न पाउने कम्पनीको दाबी छ। डिजिटल कनेक्टिभिटी दैनिक जीवनका लागि अत्यावश्यक बन्दै गएकाले नेटवर्क सुदृढीकरणमा लगानी बढाइएको एनसेलले जनाएको छ।

एनसेलका अनुसार सातै प्रदेशका विभिन्न स्थानीय तहमा नयाँ टावर जडान भइसकेका छन्। कर्णाली प्रदेशका दैलेख, रुकुम पश्चिम र सल्यान, सुदूरपश्चिमका डोटी, कैलाली र कञ्चनपुर तथा मधेश प्रदेशका सिराहा, सप्तरी र धनुषालगायत स्थानमा फोरजी सेवा विस्तार गरिएको छ।

टावर थपिएपछि सेवामा आएको सुधार प्रयोगकर्ताले प्रत्यक्ष रूपमा अनुभव गर्न थालेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१७ की अनिशा मण्डल भन्छिन्, “पहिले घरभित्र राम्रोसँग नेट चल्दैनथ्यो, अहिले त धेरै नै राम्रो भएको छ।”

एनसेलका अनुसार जडान गरिएका २५० टावरमध्ये १९७ वटा पछिल्लो साढे दुई महिनाभित्र स्थापना गरिएका हुन्। बाँकी ५३ वटा भने स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोग गरेर सञ्चालनमा ल्याइएको हो।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तका अनुसार नयाँ टावर र क्षमता अभिवृद्धि गरिएका साइटहरूले स्थानीय तहसम्म मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार गरेका छन्।

एनसेलले २०७४ जेठदेखि फोरजी सेवा सुरु गरेको हो। हाल यो सेवा देशका ७७ वटै जिल्लामा विस्तार भइसकेको र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढीले फोरजी सेवाको लाभ लिइरहेको कम्पनीले जनाएको छ। नेटवर्क विस्तारले देशव्यापी रूपमा ग्राहक अनुभव अझ राम्रो बनाउने विश्वास एनसेलको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *