काठमाडौँ । नेपाल टेलिकमले बिलिङ प्रणाली खरिद ठेक्कामा प्राविधिक रूपमा योग्य ठहरिएको चिनियाँ कम्पनी ह्वावे टेक्नोलोजिजले प्रस्ताव गरेको मूल्य खोल्ने मिति अनिश्चितकालका लागि स्थगित गरेको छ ।
यसअघि ८ असोजमा मूल्य खोल्ने भनिएको थियो । तर जेनजी आन्दोलनका कारण मिति सारिएको र फेरि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको टेलिकमले बुधबार सार्वजनिक सूचनामार्फत जानकारी दिएको हो ।
१५ भदौमा टेलिकमले ह्वावेलाई मात्रै प्राविधिक रूपमा योग्य ठहराउँदै ३० भदौमा मूल्य खोल्ने निर्णय गरेको थियो । तर राजनीतिक परिस्थिति प्रतिकूल भएपछि ८ असोजमा सारिएको मिति पनि स्थगित गरिएको हो ।
सर्वोच्च अदालतको आदेश विपरीत विवादास्पद ठेक्का अघि बढाएको भन्दै टेलिकम आलोचित हुँदै आएको छ । बदलिँदो राजनीतिक परिस्थितिमा कम्पनी विवाद टुंग्याउन इच्छुक देखिएको छैन ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलन हिंसात्मक बन्दै जाँदा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । नयाँ सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नियुक्त भएसँगै टेलिकमले ठेक्का प्रक्रियामा अनिच्छा देखाएको बताइएको छ ।
नेपाल टेलिकमले १८ मार्च २०२५ मा आह्वान गरेको ठेक्कामा ह्वावे र ह्लेल क्लाउडले मात्र प्रस्ताव पेस गरेका थिए । तर, प्राविधिक मूल्यांकनमा ह्वावेलाई मात्र योग्य ठहराइएको थियो ।
हाल टेलिकमको बिलिङ प्रणाली एसिया इन्फोले सञ्चालन गर्दै आएको छ । प्रणाली पुरानो भएकाले पटक–पटक सेवा अवरुद्ध हुने गरेको र यसका कारण टेलिकम आलोचनामा परेको छ । गत २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।





