काठमाडौँ । नेपाल टेलिकमले मनाङ जिल्लाका दुर्गम तथा विकट स्थानहरूमा टुजी र फोरजी सेवा सुरु गरेको छ । टेलिकमले मनाङमा नयाँ बीटीएस जडान गरेर मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानमा गुणस्तर अभिवृद्धिको काम सकेको हो ।
लामो समयदेखि मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको वडा नम्बर १ पिसाङ, वडा नम्बर ३ वल, वडा नम्बर ८ टङ्की मनाङ र वडा नम्बर ९ खाङसारमा भी-स्याट प्रविधिबाट टेलिकमले टुजी सेवा दिइरहेको थियो । पर्यटकीय दृष्टिकोणले समेत अत्यन्तै महत्त्वपूर्ण क्षेत्र भएको, स्थानीय तथा व्यवसायीहरूको चापका कारण भी-स्याट प्रविधिबाट गुणस्तरीय सेवा दिन कठिन भएपछि टेलिकमले ती क्षेत्रमा ४ असोजदेखि फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
भौगोलिक विकटताका कारण रेडियो लिङ्कबाट समेत सेवा सञ्चालन गर्न नसकिने भएपछि बेसीसहर-खाङसार एडीएसएस लिङ्क सञ्चालन भएपछि उक्त क्षेत्रमा फोरजी सेवा सम्भव भएको टेलिकमले जनाएको छ । यसका साथै तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि निकट भविष्यमा फोरजी सेवा सुरु गर्ने टेलिकमको तयारी छ ।
चामे गाउँपालिका-३ कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज रामो नभएको गुनासोलाई सम्बोधन गर्न टेलिकमले नयाँ बीटीएस स्थापना गरेको छ। त्यसपछि १ असोजदेखि त्यहाँ टुजी र फोरजी सेवा सञ्चालनमा आएको छ ।
त्यसैगरी नासोङ गाउँपालिका वडा नम्बर १ तालगाउँमा टुजी र थ्रीजी सेवा प्रवाह हुँदै आएकोमा ५ असोजदेखि फोरजी सेवा थप गरी सञ्चालनमा ल्याइएको छ । यहाँ थप गरिएको फोरजी सेवाको बीटीएसले लमजुङ जिल्लाको उत्तरी खण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज प्रदान गर्ने टेलिकमले जनाएको छ ।
मनाङ जिल्लाका धेरै स्थानमा सेवाको स्तरोन्नतिका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमी गाउँपालिका बाहेकका अन्य सबै पालिकाहरूमा टेलिकमको फोरजी मोबाइल सेवा पुगेको छ । नार्पाभूमीका नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने टेलिकमले भी-स्याट प्रणालीबाट दूरसञ्चार सेवा दिइरहेको छ ।




