काठमाडौं । नेपाल सरकारले बन्द गरेका सामाजिक सञ्जालमध्ये एक्स (पहिले ट्विटर) र विच्याट ले पनि सूचीकरण प्रक्रियामा चासो देखाएका छन्।
बिहीबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले २६ वटा सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएपछि शुक्रबार बिहानैदेखि ती सञ्जालमा समस्या देखिएको हो।
मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालका अनुसार निष्क्रिय भएका सञ्जालमध्ये एक्स र विच्याटका प्रतिनिधिले चासो देखाएका छन्। तर आधिकारिक रूपमा निवेदन भने दिइसकेका छैनन्,’ उनले बताए।
यसअघि बिहीबार नै हाम्रो पात्रोले निवेदन दिएको र हाल सूचीकरण प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, फेसबुकको माउ कम्पनी मेटाका प्रतिनिधिले पनि सिंगापुरबाट मन्त्रालयसँग सम्पर्क गरेका छन्। सम्पर्क गरेका प्रतिनिधिलाई इमेलमार्फत प्रक्रिया र आवश्यक कागजातबारे विवरण पठाइएको पौड्यालले जानकारी दिए।




