देश

व्यासको तिङ्कर गाउँमा टेलिफोन सेवा अवरुद्ध

दार्चुला।चीनको सीमावर्ती व्यास गाउँपालिका–१ स्थित तिङ्कर गाउँमा तीन सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। गत साउन २८ गते आएको बाढीसँगै टेलिकम टावरमा चट्याङले क्षति पुर्‍याएपछि नेपाल टेलिकमको टुजी सेवा बन्द भएको हो।

टेलिफोन सेवा नहुँदा स्थानीयवासीलाई दैनिक सम्पर्कमा ठूलो समस्या भएको छ। गाउँमा रहेको भिसेट फोन पनि लगातारको वर्षाका कारण सुचारु हुन नसकेको स्थानीय आस्तिक तिङ्करीले बताए।

तिङ्कर गाउँमा करिब ७० परिवार बसोबास गर्छन्। यहाँका बासिन्दा जेठमा सदरमुकाम खलङ्गाबाट कुञ्चा (बसाइँ) सरेका थिए। वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार साउन २८ गतेदेखि नै टावर नचल्दा गाउँसँगको सम्पर्क टुटेको छ।

नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले टावरमा जडान गरिएको सफ्टवेयरमा समस्या आएको हुनसक्ने जानकारी दिए। “सम्बन्धित विवरण केन्द्रीय कार्यालयमा पठाइसकेका छौँ, समस्या समाधानका लागि प्रयास भइरहेको छ,” गुरुङले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *