काठमाडौं । संसारभरका वैज्ञानिक र वेधशालाहरूले हाल चार प्रमुख क्षुद्रग्रहमाथि निगरानी बढाएका छन्। तीमध्ये केहीले पृथ्वीसँग ठोक्किन सक्ने सम्भावना देखिएपछि वैज्ञानिकहरू थप सतर्क भएका हुन्।
क्षुद्रग्रह के हुन् ?
क्षुद्रग्रहहरू सौर्यमण्डलको सुरुवाती चरणमा बनेका चट्टानी टुक्राहरू हुन्, जसको संख्या अहिले १० लाखभन्दा बढी पहिचान भइसकेको छ। तीमध्ये अधिकांश मंगल र बृहस्पति ग्रहबीचको मुख्य क्षुद्रग्रह बेल्टमा रहेका छन्। यद्यपि, केही पृथ्वीको कक्षासम्म नजिक आउने भएकाले तिनीहरूमाथि निगरानी आवश्यक मानिन्छ।
बेलायतको ओपन युनिभर्सिटीकी ग्रह वैज्ञानिक मोनिका ग्रेडीका अनुसार, “कतिपय क्षुद्रग्रहमा जैविक यौगिक हुन्छन्, जसले पृथ्वीमा जीवनको सुरुआतमा भूमिका खेलेका हुनसक्छन्।”
खतरा कुन क्षुद्रग्रहबाट ?
१. एपोफिस (Apophis): तीन फुटबल मैदान बराबरको
इजिप्टेली पौराणिकता अनुसार अराजकताको देवताको नामबाट चिनिने एपोफिस नामक क्षुद्रग्रह सन् २००४ मा पत्ता लागेको हो। यसको औसत व्यास ३४० मिटर छ। यो सन् २०२९ को अप्रिल १३ मा पृथ्वीबाट करिब ३२,००० किमि टाढाबाट गुज्रनेछ, जुन भू–स्थिर उपग्रहहरूको कक्षाजत्तिकै हो।
नासाले अर्को १०० वर्षसम्म पृथ्वीमा ठोक्किने सम्भावना नदेखिए पनि वैज्ञानिकहरू यसको कक्षा र गुरुत्वीय प्रभावबारे सतर्क छन्।
२. २०२४ YR4: चन्द्रमासँग ठोक्किने ३.८% सम्भावना
सन् २०२४ मा पत्ता लागेको यो क्षुद्रग्रह १५ तले भवन बराबर ठुलो (५३–६७ मिटर व्यास) छ। प्रारम्भिक विश्लेषणमा यसले २०३२ मा पृथ्वीमा ठोक्किन सक्ने सम्भावना ३२ मा १ देखिएको थियो। यद्यपि, पछि नासाले त्यो सम्भावना खारेज गर्यो। तर यो चन्द्रमासँग ठोक्किन सक्ने ३.८% सम्भावना भने कायम छ। वैज्ञानिकका अनुसार त्यसले चन्द्रमाको कक्षामा खासै असर नगर्नेछ।
३. डिडिमोस र डिमोर्फोस: प्रयोगात्मक टक्कर
डिडिमोस एक क्षुद्रग्रह हो र डिमोर्फोस नामक सानो चन्द्रमा त्यसको परिक्रमा गर्छ। यी पृथ्वीका लागि खतरा नभए पनि नासाले २०२२ मा DART (Double Asteroid Redirection Test) अभियान अन्तर्गत डिमोर्फोसमा जानाजानी प्रोब ठोक्काएको थियो। उद्देश्य— क्षुद्रग्रहको कक्षा परिवर्तन गर्न सकिन्छ कि सकिन्न भन्ने परीक्षण गर्नु।
४. साइकी (Psyche): पृथ्वीको कोर बुझ्ने सम्भावना
मंगल–बृहस्पति बेल्टमा अवस्थित ‘साइकी’ नामक धातुयुक्त क्षुद्रग्रह ग्रह निर्माणको सुरुवाती चरणसँग सम्बन्धित रहेको विश्वास छ। यसको अध्ययन गर्न नासाले २०२३ मा विशेष मिशन सुरु गरेको हो। वैज्ञानिकहरूलाई आशा छ कि यसले पृथ्वी तथा अन्य ग्रहहरूको आन्तरिक संरचना बुझ्न सहयोग गर्नेछ।
नयाँ खोजको लहर
यसै महिनाको सुरुमा भेरा रुबिन वेधशालाको नयाँ टेलिस्कोपले मात्र १० घण्टामा २,००० भन्दा बढी क्षुद्रग्रहहरू र पृथ्वी नजिकका ७ वस्तुहरू पत्ता लगाएको छ।
प्राध्यापक ग्रेडीका अनुसार, “यदि हामी सम्पूर्ण आकाश हेर्न चाहन्छौं भने फराकिलो दृश्य आवश्यक पर्छ, र यो टेलिस्कोप त्यसमा सक्षम छ।”
विज्ञहरूका अनुसार, पृथ्वीमा ठोक्किन सक्ने साना र अझै नदेखिएका क्षुद्रग्रहहरू नै मुख्य चिन्ताको विषय हुन्। तिनको समयमै पहिचान र निगरानीले भावी जोखिम टार्न सहयोग गर्न सक्छ।




