प्रविधि

१५ घर मात्र रहेको स्याङतामा नेपाल टेलिकमको ३जी सेवा सुरु

बागलुङ । नेपाल टेलिकम बागलुङ शाखाले मुस्ताङको अत्यन्तै दुर्गम बस्ती स्याङतामा ३जी मोबाइल सेवा विस्तार गरेको छ।

बागलुङ शाखाका प्रमुख वरिष्ठ इन्जिनियर सन्तोष बरालका अनुसार, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ मा पर्ने यो बस्ती ४ हजार ४ सय मिटर उचाइमा अवस्थित छ र यहाँ जम्मा १५ घर तथा ४५ जना मात्र मतदाता रहेका छन्।

बर्षको पाँच महिना हिउँ जमेर आवागमन अवरुद्ध हुने यस गाउँमा अहिलेसम्म सामान्य टेलिफोन सेवा पनि नपुगेको अवस्थामा टेलिकमले ३जी सेवा विस्तार गरेको हो।

स्थानीयको माग र डोल्पा जोड्ने सडक निर्माण भइरहेकाले भविष्यमा बस्ती विस्तारको सम्भावनालाई ध्यानमा राख्दै सेवा सुरु गरिएको बरालले बताए।

बिजुली सेवा नपुगेका कारण सोलारमार्फत टावरमा विद्युतीकरण गरी सेवा सञ्चालनमा ल्याइएको हो। घिउला डाँडाबाट रिपिटरमार्फत पावर पुर्‍याइएको छ।

लुलाङमा पनि २जी र ४जी सेवा सुरु
त्यस्तै, म्याग्दीको धवलागिरि गाउँपालिका–२ को लुलाङमा पनि नेपाल टेलिकमले २जी र ४जी सेवा विस्तार गरेको छ।

यसअघि गुर्जामा ४जी सेवा सञ्चालन भएपछि बाँकी रहेको बीटीएस टावर उपकरण लुलाङमा स्थानान्तरण गरी जडान गरिएको हो।

यो टावर खोरियो, मुन, लमसुङ, लुलाङ, मरेनी र जलजला क्षेत्र लक्षित गरी सञ्चालनमा ल्याइएको हो। मुदीमा मात्र टावर हुँदा इन्टरनेट र फोन सेवा नपुगेको भन्दै स्थानीयले पटक–पटक माग गरेका थिए।

अब भने नेपाल विद्युत प्राधिकरणबाट केन्द्रीय प्रसारण लाइन पुगेपछि सेवा नियमित रूपमा सञ्चालनमा आएको छ।

स्थानीयको श्रमदान र टावरको विस्तार
स्याङता र लुलाङ दुवै ठाउँमा टावर जडानका लागि स्थानीयले श्रमदानमार्फत उपकरण राख्ने घर निर्माण गरेका थिए।

इन्जिनियर बरालका अनुसार, यो विस्तारसँगै धौलागिरि क्षेत्रमा हाल २जी सेवा सञ्चालन भएका १५४, ३जी सेवा भएका १२९ र ४जी सेवा सञ्चालनमा रहेका १३० वटा टावर पुगेका छन्।

त्यसैगरी, बागलुङमा ६, मुस्ताङमा ६ र म्याग्दीमा ५ वटा गरी जम्मा १७ स्थानमा सेक्टर एक्स्टेन्सनमार्फत समेत सेवा सञ्चालनमा रहेको जानकारी बरालले दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *